काठमाडौँ । ललितानिवासको सरकारी जग्गा व्यक्तिका नाममा गरिएको प्रकरणमा सर्वोच्च अदालतले हालै दिएको आदेशबारे सत्ता गठबन्धनमा छलफल भएको छ ।
सर्वोच्चले सो प्रकरणका निर्णयकर्तामाथि पनि अनुसन्धान गर्न आदेश दिएपछि सत्ता गठबन्धनमै रहेका तत्कालीन प्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईमाथि पनि अनुसन्धान गर्नुपर्ने अवस्था आएको छ ।
यही विषयमा केन्द्रित रहेर सोमबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसेको हो । नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल युरोप भ्रमणबाट आजै बिहान मात्र काठमाडौं आइपुगेका थिए ।
बैठकमा उनी पनि सहभागी छन् । अध्यक्ष नेपालले सोमबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै सो प्रकरणको छानबिनमा आफूले सहयोग गर्ने बताएका थिए ।
यस्तै सत्ता गठबन्धनको बैठकमा संसदको जारी अवरोध खुलाउने विषयमा पनि छलफल भएको छ । सुन तस्करी प्रकरणका लागि उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले लगातार संसद अवरोध गर्दै आएको छ । कसरी संसदको अवरोध खुलाउने भन्ने विषयमा पनि सत्ता गठबन्धनमा छलफल भएको छ ।