नारायणगढ । प्रधानमन्त्री पुष्पकमल दाहालले चीन र बंगलादेशसँग विद्युतीय व्यपारको सम्झौता हुने बताएका छन् । दुई देशबीचको मित्रताको आधारमा विद्युतको उत्पादन बढाएर व्यापार गर्न लागेको उनले बताए । यसबारे दुई देशबीच सकारात्मक कुराकानी भएको बताउँदै उनले सहमति पत्रमा हस्ताक्षर हुने बताए ।
युवा दिवसको अवसर पारेर शनिबार भरतपुर महानगरपालिकाले पटिहानीमा आयोजना गरेको कार्यक्रममा बोल्दै उनले भारतको बाटोहुँदै बंगलादेशमा विद्युत बिक्री गर्ने विषयमा सहमति भएको बताए। उनले काठमाडौंमा विशेष समारोहबीच हस्ताक्षर हुने बताए ।
बुढी गण्डकी र कर्णाली चिसापानीलाई जलविद्युत आयोजना अघि बढाउन ठोस पहल भएको उनको भनाइ छ । विद्युतको व्यापारबाट अर्थतन्त्रमा ठूलो परिवर्तन ल्याउन दाबी गर्दै उनले विद्युत उत्पादन बढाएर त्यसको व्यापारले नेपालको अर्थतन्त्रमा परिवर्तन ल्याउन गेम चेनन्जर ल्याउन लागेको बताए ।
‘दश हजार मेगावाट विद्युत उत्पादन गर्न सकियो भने ठूलो क्रान्ति ल्याउने नेपालको अर्थतन्त्रको गेमचेन्जर हुनसक्छ । युवालाई विदेश जान नपर्ने, देशभित्रै रोजगारी सिर्जना गर्न सरकारको ध्यान गएको छ,’ उनले भने ।
रसुवा नाकामा क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताउँदै अबको भ्रमणमा चीनसँग दुई देशीय हस्ताक्षर हुने उनले बताए । ‘भारतको बाटोहुँदै बंगलादेशमा विद्युतको ब्यापार गर्ने सहमति भएको छ । भोलिको दिनमा नेपालको भविष्यलाई अझ सुदृढ गर्छ भन्ने हाम्रो विश्वास छ । अब म चीन भ्रमणमा जाँदैछु । चीनसँग विद्युत र भौतिक पूर्वाधारको निर्माणको क्षेत्रमा नयाँ सहमति हुने स्थिति छ,’ उनले भने ।
उनले भारतसँग जस्तै रसुवा नाकाबाट क्रस बोर्डर ट्रान्समिसन बनाउने कुरामा सहमति भएको बताए । उक्त सम्झौता चीन भ्रमणको क्रममा हस्ताक्षर हुने उनले बताए । कर्णाली चिसापानी र बुढीगण्डकी लगायतका ठूला परियोजनाहरूको निर्माण सरकारको प्राथमिकतामा रहेको उनको भनाइ छ ।
उनले अन्तरराष्ट्रिय सम्बन्धको सहकार्यमा नेपालमा व्यापार बढाउन लागेको बताए । चीनसँग कृषिमा क्रान्ति कसरी ल्याउने भन्नेमा आफू केन्द्रित रहेको उनले बताए । प्रधानमन्त्रीका अनुसार चीनले पशुपालनसहित अन्य कुरामा सहयोग गर्ने इच्छा गरेको छ । कृषिको आधुनिकीरण र उत्पादन वृद्धिका लागि कुराकानी भएको दाहालको भनाइ छ ।