• जेष्ठ २८ २०८२, मंगलवार

अमेरिकी नियन्त्रण गुमेको दक्षिण अफ्रिकाको सत्ता जोगाउन रुसी सेना जाँदै

श्रावण २२ २०८०, सोमबार

काठमाडौं । दक्षिण अफ्रिकी राष्ट्र नाइजरमा गत जुलाई २६ का दिन सेनाले सत्ता हत्याउँदै शासन आफ्नो हातमा लियो । ६३ वर्षे राष्ट्रपति मोहम्मद बजुमलाई हिरासतमा राखेर देशको शासन प्रणाली यतिबेला सेनाले चलाइरहेका छन् ।

तर, दक्षिण अफ्रिकी राष्ट्रहरूको आर्थिक समूह इकोवासले यतिबेला नाइजरको सैन्य सत्तालाई चुनौती दिँदै तत्काल राष्ट्रपति बजुमलाई नजरबन्दबाट छाड्न र सत्ता पहिलेकै अवस्थामा फर्काउन चेतावनी दिएको छ । इकोनोमिक कम्युनिटी अफ वेस्ट अफ्रिकन स्टेट्स इकोवासमा पश्चिम अफ्रिकाका १५ राष्ट्र समावेश छन् ।

ती राष्ट्रका सेनाहरूले नाइजरमा आक्रमण गरेर हाल जारी राजनीतिक अस्थिरतालाई स्थिर बनाउने बताइरहँदा नाइजरका सैन्य शासक त्रसित बनेका छन् । यतिबेला उनीहरूले रुसका भाडाका लडाकु समूह वाग्नरसँग सहयोग मागेका छन् ।

इकोवासको हस्तक्षेपबाट देश जोगाउन नाइजरका सेनाले वाग्नरसँग सहयोग मागेको माली र फ्रान्सका अधिकारीहरूले बताएका छन् । सैन्य जनरल सालिफोउ मोडी हालै छिमेकी राष्ट्र माली भ्रमणका लागि गएका थिए । त्यहाँ उनले वाग्नरसँग सम्पर्क गरेको बताइएको छ ।

रुसी भाडाका लडाकु समूह वाग्नर मालीमा आतंकवादीविरुद्धको अभियानमा सरकारी सेनालाई सहयोग गर्न खटेका छन् । नाइजरका सेनाले नजरबन्दमा राखेका राष्ट्रपति बजुम भने अमेरिका र उक्त देशका सहयोगी राष्ट्रका समर्थक मानिन्छन् । उनले ती देशलाई चरमपन्थीविरुद्धको अभियानमा साथ दिएका थिए । इकोवास समूहले आइतबारसम्म राष्ट्रपति बजुमलाई हिरासतमुक्त गर्न समयसीमा तोकेको थियो ।

तर, नाइजरको सैन्य शासकले यतिबेला आफ्नो देशको हवाई मार्ग पूणर्रूपमा अनिश्चितकालसम्मका लागि बन्द गरिदिएको छ । आफ्नो हवाई क्षेत्रमा आउने कुनै पनि जहाजलाई आक्रमण गरेर खसाउने सेनाले चेतावनी दिएको छ । इकोवासको आक्रमणको खतरा मध्यनजर गर्दै नाइजरले हवाई क्षेत्र बन्द गरेको हो ।

यतिबेला नाइजरका सैन्य शासक राष्ट्रपति बजुमको भन्दा ठीक उल्टो रुसतिर झुकाव बढाइरहेका छन् । इकोवासमा आवद्ध देशका सैन्य जनरलहरूले क्षेत्रीय हस्तक्षेपका लागि सहमति जनाइसकेका छन् । तर, नाइजरका सेनाविरुद्ध कहिलेबाट संघर्ष छेडिने कुनै जानकारी दिइएको छैन । यस्तोमा वाग्नरसँग हात मिलाउन पाए इकोवासविरुद्धको संघर्ष टार्न सकिने नाइजरको सेनाको विश्वास छ ।
-अल जजिराको सहयोगमा