• जेष्ठ २८ २०८२, मंगलवार

ल्यारक्याल लामाको नियुक्तिको स्वामित्व कांग्रेसले लिँदैन : विश्वप्रकाश शर्मा

श्रावण २२ २०८०, सोमबार

काठमाडौं । कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले ल्यारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त गर्ने सरकारको निणर्यको स्वामित्व कांग्रेसले नलिने बताएका छन् ।

सोमबार नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै महामन्त्री शर्माले कोषमा लामाको नियुक्तिले गलत सन्देश दिएको धारणा राखे ।

‘म यो विषयमा प्रष्ट विमती राख्न चाहन्छु । मैले रक्षामन्त्री र कानुनमन्त्रीसँग सम्पर्क गरेर ध्यानाकर्षण गराएको छु । यो निणर्य सरकारको निणर्य हो । यो निणर्यको स्वामित्व कांग्रेस बोक्दैन’ उनले भने ।

गौतम बुद्धको जन्मथलोमा नेतृत्व गर्ने व्यक्ति नियुक्तिमा सरकार गम्भीर हुन नसकेको उनले बताए । ‘संसार भरिका मानिसहरु नेपालतिर फर्केर श्रद्धा गर्छन् । त्यो माटोमा शीर एकपटक झुकाउन पाउँदैगर्दा जीवन नै धन्य भयो भन्नेखालको महशुस गर्छन् । यस्तो थलोमा नेतृत्व चयन गर्दै गर्दाखेरी सरकारले गम्भिरतापूर्वक कस्तो पृष्ठभूमिको, के योग्यता कस्तो छविको भनेर ध्यान नपुर्याउनु वर्तमान सरकारको गम्भीर गल्ती’ उनले भने ।