काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले मन्त्रिपरिषद बैठकपछि माइन्युटमा विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामा नियुक्तिको निर्णय थपेको खुलासा भएको छ ।
मन्त्रिपरिषद बैठकमा लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्तिको एजेन्डा प्रवेश गरे पनि नामहरूबारे कुनै छलफल भएको थिएन । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले कुनै निश्चित नाम प्रस्ताव गरेनन् । मन्त्रिपरिषद बैठकमा सहभागी मन्त्रीहरूले यसबारे कुनै निर्णय नभएको बताएका थिए ।
सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार प्रविधिमन्त्री रेखा शर्माले मन्त्रिपरिषदका निर्णय सार्वजनिक गर्दासमेत यसबारे निर्णय बताइनन् तर, आइतबार एकाएक कोषमा ल्हारक्याल नियुक्तिको निर्णय बाहिरिएको थियो ।
प्रचण्डको एकल निर्णयबाट लुम्बिनी विकास कोषको उपाध्यक्षमा ल्हारक्याल लामाको नियुक्ति भएको पुष्टि भएको छ । विभागीय मन्त्री किराँतीले पनि त्यस्तै संकेत गरेका छन् । उनले भने, ‘प्रधानमन्त्री भनेको कार्यकारी हो । उहाँले उपप्रधानमन्त्रीहरू र मुख्यसचिवसँग छलफल गरेर टुंग्याउँछु भन्नुभएको थियो । त्यसै भएको हो ।’ तर, सिफारिसकर्ता मन्त्रालय र मन्त्रीको हैसियतमा सरकारको सो निर्णयप्रति आफू जिम्मेवार रहेको किराँती बताउँछन् ।
कोषको उपाध्यक्ष नियुक्तिमा प्रधानमन्त्री प्रचण्ड र पर्यटनमन्त्री किराँतीले भिन्नभिन्न उम्मेदवार अघि सारेका थिए । प्रचण्डले ल्हारक्याल र किराँतीले चर्चित गायिका आनी छोइङ डोल्मालाई उपाध्यक्ष नियुक्ति गर्न चाहेका थिए । अन्ततः प्रचण्डले आफूले चाहेका ल्हारक्याललाई नियुक्ति गरे ।