काठमाडौं । अधिवक्ता भगवती पाण्डेमाथि कारवाही गर्न माग गर्दै साउन १७ गते गरिएको धर्नामा प्रहरीले व्यापक दमन गरी दर्जनौं जनजाति कार्यकतालाई घाइते बनाएको विरोधमा आज पनि देशभरका जिल्ला प्रशासन कार्यालयहरुमा विरोध प्रदर्शन गरिएको छ ।
यसैबीच काठमाडौं जिल्ला प्रशासन कार्यालय अगाडी पनि तामाङ र मगर समुदायका कार्यकर्ताहरुले नाराबाजी सहित विरोध प्रदर्शन गरेका छन् । विरोध प्रदर्शनमा सयौं कार्यकर्ता र नेताहरु सहभागी भएका छन् ।
प्रदर्शनकारीहरुले नश्लीय अदालत खारेज गर, भगवती पाण्डेलाई कारवाही गर, प्रहरी डिएसपी दानबहादुर कार्कीलाई बर्खास्त गर लगायतका नारा लगाएका छन् । विरोधसभालाई जनजाति नेताहरु आरके खम्बु लगायतले सम्बोधन गरेका छन् ।
तामाङ र मगर समुदायको संस्कृतिमाथि प्रहार गरेर बोल्ने अधिवक्ता भगवती पाण्डेलाई कारवाही गर्नुको साटो जोगाएको र उल्टै जनजातिमाथि लाठी हान्ने, कुटपिट गर्ने र गिरफ्तार गर्ने गरेको भन्दै लोकतन्त्रको इतिहासमै नभएको घटना भएको भन्दै आक्रोस व्यक्त गरे ।
उनले विभेदकारी कानून खारेजीको माग गरे । साथै उनले गणतन्त्रमा आदिवासीमाथि दमन गर्नु गणतन्त्रकै उपहास भएको बताए । साउन १७ गते भएको धर्नामा डिएसपी कार्कीको आदेशमा जनजातिका धर्नाकारीहरुमाथि प्रहरीले लाठीचार्ज गरी दर्जनौंलाई घाइते बनाएको थियो ।
तीमध्ये धेरैको हालसम्म पनि उपचार भइरहेको छ । अदालतले पक्राउ गर्न आदेश दिएपनि प्रहरीले भगवती पाण्डेलाई पक्राउ नगरेका कारण जनजातिहरु धर्ना बस्न गएका थिए । सोहीक्रमममा प्रहरीले उनीहरुलाई दमन गरेको हो ।
तस्वीर : रोमन बुढामगर ।