• मंसिर १४ २०८१, शुक्रबार

सुन तस्करीमा संलग्न आरोपितहरुलाई राजस्व अनुसन्धान विभागमा पठाइयो

श्रावण २१ २०८०, आईतवार

काठमाडौँ । करिब १ सय किलो सुन तस्करीमा संलग्न १७ जना आरोपितलाई राजस्व अनुसन्धान विभागबाट प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोमा पठाइएको छ । साउन ३ बाट उनीहरु पुल्चोकस्थित राजस्व अनुसन्धान विभागको हिरासतमा थिए ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट बाहिरिएको करिब एक सय किलो सुन कारोबारमा संलग्न आशंकामा राजस्व अनुसन्धान विभागले उनीहरुलाई नियन्त्रणमा लिएको थियो । चिनियाँ नागरिक जिक्वाङ लिन र तिब्बत मूलका भारतीय नागरिक थाप्तेन छिरिङसहित १७ जना हिरासतमा छन् ।

अहिलेसम्मको अनुसन्धान तथ्यसहित पक्राउ परेकाहरुलाई ब्युरोको जिम्मा लगाइएको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए । असार ३० मा हङकङकबाट काठमाडौँ ल्याइएको सो सुन ‘रेडी ट्रेड प्रालि’ ले मगाएको अनुसन्धानबाट थाहा भएको छ । रेडी ट्रेडका संचालक दोलखाको मेलुङ गाउँपालिका–३ घर भएका २१ वर्षीय दिलीप भुजेल हुन् । तस्करीमा संलग्न आरोपमा पक्राउ गरिएकी भन्सार एजेन्ट रुक्मिना सुब्बा जिम्मा जमानिमा रिहा भएकी छन् ।