• मंसिर ९ २०८१, आईतवार

एलन मस्कको ट्वीटरको निलो चरो आजदेखि ‘एक्स’ बन्यो

श्रावण ८ २०८०, सोमबार

काठमाडौँ । सामाजिक सञ्जाल ट्वीटरले आफ्नो लोगो परिवर्तन गरेको छ । यसअघिको परिचित नीलो ‘चरो’ लाई परिवर्तन गरेर सोमबार साँझदेखि ‘एक्स’ राखिएको हो ।

ट्वीटरका मालिक इलन मस्कले आइतबार साँझ आफ्ना कर्मचारीलाई इमेल गर्दै कम्पनी ‘एक्स’ मा परिणत हुने उल्लेख गरेका थिए । मस्कले ट्वीटरको स्वामित्व ग्रहण गर्नेबित्तिकै कम्पनीलाई ‘एक्स कर्पोरेसन’ मा परिणत गरेका थिए ।

अमेरिकी समयअनुसार आइतबार मध्यरातदेखि मस्कले एक्सबारे ट्वीट गर्न सुरु गरेका थिए । पहिले ‘एक्स’ अक्षर मात्रै ट्वीट गरेका उनले त्यसपछि आफूहरूले बिस्तारै ट्वीटरको अहिलेको ब्रान्ड र चरो दुवैलाई बिदा गर्ने घोषणा गरेका थिए ।

यस्तो कार्य निकै अघि नै भइसकेको हुनुपर्ने दाबी गर्ने मस्कले आफ्नो प्लेटफर्मलाई चिनियाँ विच्याटजस्तै सुपर एप अर्थात् धेरैथोक गर्न मिल्ने गरी विकास गर्न खोजेको विश्लेषकहरूको अनुमान छ । ट्वीटरकी नवनियुक्त प्रमुख कार्यकारी अधिकृत लिन्डा याक्करिनोले पनि कम्पनीको यो पुनः ब्रान्डिङ प्रक्रिया एक उत्साहपूणर् अवसर भएको प्रतिक्रिया दिएकी छन् ।

ट्वीटरको आम्दानी आधाभन्दा कम भएको भन्ने मस्कको स्विकारोक्ति र प्रतिस्पर्धी मेटाको थ्रेड्सले द्रुत गतिमा प्रयोगकर्ता तानिरहेको सन्दर्भमा अहिलेको अपर्झट प्रयत्नले प्लाटफर्मका मौलिक प्रयोगकर्तालाई अझै अलग गराउने फरेस्टर रिसर्चका निर्देशक माइक प्रोल्क्सले रोयटर्ससँगको कुराकानीमा भनेका छन् ।

‘एकातर्फ हामी उनले आफ्नो चिरपरिचित ब्रान्डलाई त्याग्न लागेको तर्क दिन सक्छौं,’ माइक भन्छन्, ‘अर्कोतर्फ ट्वीटर आफ्ना पुराना दिनलाई बिस्तारै फेर्दै फरक दिशा र फरक प्रयोगकर्तातर्फको नयाँ बाटोमा अघि बढेको पनि भान हुन्छ ।