• मंसिर १४ २०८१, शुक्रबार

तौलने यन्त्र बिगारी उपभोक्तालाई ठग्ने ११ हजार व्यापारीमाथि कारवाही

श्रावण ७ २०८०, आईतवार

काठमाडौं । गुणस्तर तथा नापतौल कार्यालय काठमाडौंले अनियमित नापतौल तथा नाप्ने तौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ११ हजार ४९१ व्यापारीलाई कारबाही गरेको छ ।
कार्यालयले आर्थिक वर्ष २०७९/८० मा अनियमित रूपमा नाप्ने/तौलने यन्त्र प्रयोग गरी उपभोक्तालाई ठगी गरेको आरोपमा उनीहरूलाई कारबाही गरेको हो ।

कार्यालयले समयमा अनुमतिपत्र नलिएका, समयमा जाँच नगराएका, समयभित्र नामसारी नगराएका, नापतौलमा घटिबढी गरेका व्यापारीलाई कारबाही गरेको हो । पछिल्लो समय नापतौल यन्त्रमार्फत् उपभोक्ता ठगी गर्ने क्रम बढेकाले कार्यालयले विशेष निगरानी बढाएको कार्यालय प्रमुख राकेशकुमार झाले जानकारी दिए ।

कार्यालयले आव २०७९/८० मा ३ हजार ४४० व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरणसमेत गरेको छ ।

प्रमुख झाका अनुसार सीमित स्रोतसाधनका बीच पनि कार्यालयले नापतौलसम्बन्धी ७७ पटक एकल र ६३ पटक संयुक्त रूपमा बजार अनुगमन गरेको थियो । आर्थिक वर्ष २०७९/८० मा ८ हजार ८५८ व्यापारीले नापतौल तथा नाप्ने/तौलने यन्त्र जाँच तथा नवीकरण गरेका छन् । सोही अवधिमा ६ हजार ८३७ ट्याक्सीको मिटर जाँच गरेको छ ।

कार्यालयले आर्थिक वर्ष २०७८/७९ मा अनियमित नापतौल तथा नाप्नेतौलने यन्त्र प्रयोग गरी ठगी गर्ने ८ हजार ८५१ व्यापारीलाई कारबाही गरेको थियो भने १ हजार ५०९ व्यापारीलाई नापतौल तथा नाप्ने/तौलने यन्त्र प्रयोग गर्न अनुमति प्रदान गर्नुका साथै इजाजतपत्र नवीकरण गरेको थियो ।

आर्थिक वर्ष २०७८/७९ मा ६ हजार ६२६ ट्यक्सीको मिटर जाँच गरेको कार्यालयका सूचना अधिकारी नीराजन पुडासैनीले जानकारी दिए । कार्यालयले १ करोड ८५ लाख ५४ हजार राजस्व सङ्कलन गरेको थियो ।