• जेष्ठ २७ २०८२, सोमबार

जापोरिजझिया क्षेत्रमा भएको आक्रमणमा रूसी युद्ध संवाददाता झुरावलेभको मृत्यु

श्रावण ६ २०८०, शनिबार

काठमाडौं : युक्रेनको दक्षिणी जापोरिजझिया क्षेत्रमा शनिबार भएको आक्रमणमा रूसी युद्ध संवाददाता रोस्तिस्लाभ झुरावलेभको मृत्यु भएको छ। झुरावलेभले रूसको सरकारी समाचार संस्था आरआईए नोभोस्तीका लागि रिपोर्टिङ गर्दै आएका थिए।

आरआईए नोभोस्तीले आफ्ना युद्ध संवाददाताको मृत्यु भएको पुष्टि गरेको छ। झुरावलेभको युद्धमा रूसी अग्रपङ्तीमा रहेको गाउँ पाइतीखाट्की नजिकै मृत्यु भएको उल्लेख गरिएको छ।

रूसी सेनाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘युक्रेनी सेनाले ‘क्लस्टर’ हतियार प्रयोग गरी गरेको आक्रमणका कारण चार जना पत्रकार घाइते भएका छन्।

विज्ञप्तिमा भनिएको छ, ‘उद्धारका क्रममा आरआईए नोभोस्तीका पत्रकार रोस्तिस्लाभ झुरावलेभको क्लस्टर युद्धसामग्री विस्फोटका कारण भएको चोटका कारण मृत्यु भएको थियो।’ अन्य संवाददाताहरूलाई सामान्य चोट लागेको सेनाले बताएको छ।

युक्रेनमा मस्कोको १७ महिनाभन्दा लामो आक्रमणका क्रममा रूसी युद्ध संवाददाताहरूको प्रभाव निकै बढेको छ।