• जेष्ठ २७ २०८२, सोमबार

युक्रेनलाई अमेरिकाले दिएको क्लस्टर बमदेखि डराएन रुस,भन्छ-‘हामीसित पनि छ त्यो बम त’

श्रावण १ २०८०, सोमबार

मस्को । अमेरिकाले सयभन्दा बढी देशले प्रतिबन्ध लगाएको क्लस्टर बम युक्रेनलाई दिने भएपछि अमेरिकासँग उसकै साझेदार राष्ट्रहरू रुष्ट बनेका छन् । तर, रुस भने अमेरिकी क्लस्टर बमदेखि चिन्तित देखिँदैन ।

केही समयअगाडि अमेरिकी राष्ट्रपति जो बाइडेनले युक्रेनलाई रुसविरुद्ध लड्न थप ८०० मिलियन अमेरिकी डलरको हतियार सहयोग गर्ने घोषणा गरेका थिए । यसै सहयोगमा अमेरिकाले युक्रेनलाई क्लस्टर बम दिने बताएको छ । बाइडेनले युक्रेनको हतियार सकिएकाले धेरै गाह्रो निणर्य लिएको बताउँदै क्लस्टर बम सहयोगको घोषणा गर्दा बेलायत, क्यानडा, न्युजिल्यान्ड र स्पेन अमेरिकासँग खुसी छैनन् ।

यी चार राष्ट्रले आफूहरूले क्लस्टर बमको विरोध गर्ने प्रतिक्रिया दिएका छन् । यी चार राष्ट्रहरू तीनै १ सय २३ राष्ट्रभित्र पर्छन् जसले क्लस्टर बमलाई प्रतिबन्ध लगाउनुपर्छ भनेर हस्ताक्षर गरेका छन् । उता आफूमाथि नै क्लस्टर बम प्रयोग हुने हुँदा पनि रुस भने चिन्तित बनेको छैन ।

किनभने रुससँग पहिल्यैदेखि क्लस्टर बमहरू छन् । हालै मात्र पुटिनले रुसविरुद्ध प्रतिबन्धित क्लस्टर म्युनिसन बम प्रयोग भएमा रुसले पनि आफूसँग भएका पर्याप्त क्लस्टर बमले युक्रेनमा आक्रमण गर्ने जवाफ दिए ।

आइतबार रुसी सरकारी टेलिभिजन भीजीटीआरकेमा प्रसारण भएको अन्तर्वार्तामा पुटिनले भनेका छन्, ‘निसन्देह, यदि त्यस्ता बम हामीविरुद्ध प्रयोग गरिन्छ भने, हामी पारस्परिक कारबाही गर्ने अधिकार सुरक्षित गर्दछौँ ।’ यसैबीच पुटिनले अन्तर्वार्तामा युक्रेनले थालेको जवाफी आक्रमण पूणर्रूपमा असफल भइसकेको पनि बताएका छन् । युक्रेनले रुसी रक्षात्मक किल्ला तोड्न नसकेको उनको भनाइ छ ।

यसअघि गतहप्ता मात्र रुसी रक्षामन्त्री सर्गेई सोइगुले पनि अमेरिकाले युक्रेनलाई प्रदान गर्ने क्लस्टर बम आफूहरूसँग पनि भएको र आवश्यकता अनुसार प्रयोग गर्ने बताएका थिए । वास्तवमा क्लस्टर बम दुस्मनलाई परास्त गर्ने शक्तिशाली हतियार हो । एकपटक आक्रमण गरिँदा यहाँबाट सयदेखि एक हजार वटासम्म साना बम छरिएर लक्षित स्थानमा पुग्न सक्छन् ।

यो बमले एउटा फुटबल मैदान जत्रै स्थान ओगटेर दुस्मनलाई समाप्त गर्नसक्छ तर, विस्फोट हुन नसकेका ती साना बमले द्वन्द्व समाप्त भएपछि पनि दशकौँसम्म खतरा निम्त्याउँछन् । किनभने त्यो धेरै पछि पनि पड्किन सक्छ । त्यसैले पनि यो बम घातक मानिन्छ र यसलाई विश्वभर दुई सयभन्दा बढी देशले प्रतिबन्ध लगाएका छन् ।