जुम्ला । अध्यक्षमाथि हातपात गर्ने जुम्ला गुठिचौर गाउँपालिका उपाध्यक्ष शान्ति मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको छ । उपाध्यक्ष मल्लले आइतबार गाउँपालिका अध्यक्ष दानबहादुर बुढामाथि हातपात गरेकी थिइन् ।
आजबाट सुरू भएको आर्थिक वर्षको बजेट कार्यपालिकाबाट पारित गराउन छलफल चल्दै गर्दा एक्कासी हातपात गरेको उजुरीपछि उनी आफै प्रहरीको सम्पर्कमा पुगेकी थिइन् ।
उनलाई अहिले पनि प्रहरी नियन्त्रणमा राखिएको गाउँपालिकाका प्रवक्ता अर्जुनकुमार महताराले जानकारी दिए । ‘अध्यक्ष आफ्नै चेम्बरमा बसिराख्नु भएको थियो । कार्यपालिका बैठक सुरू हुन आँट्दै थियो । उपाध्यक्षले एक्कासी आएर बजेटको सिलिङ माग्नुभयो । अध्यक्षले सूचना प्रविधि हेर्ने अधिकारीलाई सिलिङ देखाउन अह्राउँदै हुनुहुन्थ्यो,’ प्रवक्ता महताराले भने, ‘उहाँ एक्कासी अध्यक्षमाथि जाइलाग्नुभयो । सुरूमा दुई झापड हानेपछि चप्पल प्रहार गर्नुभयो । हामीले असहमति केमा हो बुझ्नै पाएनौं ।’
कार्यपालिकाको बैठकले घटनाप्रति दुःख व्यक्त गरेको उनले बताए । गाउँपालिकाको बजेट पनि आइतबार नै अनुमोदन भइसकेको छ ।
‘उहाँले वडाहरूको सिलिङ हेर्न खोज्दै हुनुहुन्थ्यो । साना वडालाई ४६ लाख र ठूलालाई ६० लाख पर्ने गरेर ८ करोड बजेट छुट्ट्याइएको छ । संघको अनुदान १ करोड ८५ लाख भएकाले गाउँपालिकाको दायित्व १ करोड ५० लाख छ,’ उनले भने, ‘बजेटमा असहमति हुन्थ्यो भने कार्यपालिका बैठकमै राखेको भए हुन्थ्यो । भौतिक आक्रमणमै उत्रिएपछि घटनाको निन्दा गर्नुबाहेक हामीसँग विकल्प छैन ।’
गाउँपालिका अध्यक्ष दानबहादुर बुढा कांग्रेसका हुन् भने उपाध्यक्ष मल्ल नेकपा (एकीकृत समाजवादी) की हुन् । अघिल्लो वर्ष माओवादी र कांग्रेस मिलेर बजेट पारित गरिएकामा यसपटक पनि दुई दल नै मिलेर अनुमोदन गरेको र एकीकृत समाजवादी बाहिरै रहेको प्रवक्ता महताराले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रवक्ता प्रहरी निरीक्षक धर्मराज जोशीले घटनाबारे उपाध्यक्ष मल्लसँग सोधपुछ जारी रहेको जानकारी दिए ।