• मंसिर १४ २०८१, शुक्रबार

सहकारी पीडितले गरे काठमाडौंमा विशाल प्रदर्शन

असार ३१ २०८०, आईतवार

काठमाडौं । सहकारी पीडितहरूले काठमाडौंको नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका छन् । माइतीघर मण्डलमा जेठ २० गतेदेखि धर्ना बस्दै आएका सहकारी पीडितहरू आइतबार बानेश्वर पुगेका हुन् ।

५० भन्दा धेरै सहकारी संस्थाबाट ठगिएको भन्दै ४० दिनदेखि पीडितहरू न्याय माग्दै माइतीघरमा बसिरहेका छन् । आफूहरूले बचत गरेको लाखौं रकम सहकारीका सञ्चालकले हिनामिना गरेको र फिर्ता माग्दा नदिएको पीडितहरूको आरोप छ । उनीहरूले विभिन्न माग लेखिएको प्लाकार्ड बोकेर प्रदर्शन गरेका छन् ।

‘इच्छाराजको पाराले दुःख पायो साराले’, ‘हाम्रो रगत पसिना चुस्ने ठगहरू होसियार’, ‘ए सरकार कि त मारिदेऊ कि त खोला तारिदेऊ’ लगायतका नारा लगाएर उनीहरूले प्रदर्शन गरेका छन् ।

त्यस्तै, ‘विद्यमान परिस्थितलाई मध्यनजर गर्दै सहकारी पीडित सदस्य बचतकर्ताको हितमा हुने गरी सहकारी ऐन संशोधन गर’, ‘संचालनमा रहेका बचत तथा ऋण सहकारी सञ्चालक समिति कर्मचारी उनका परिवार आफन्त नातागोता र निजका तीन पुस्ते सम्पति छनाबिन र अनुगमन गर’ लगायतका मागहरू उल्लेखित छन् ।

बानेश्वरमा निषेधित क्षेत्र तोड्न खोजेपछि १९ जना प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी सीताराम रिजालले जानकारी दिए ।