वीरेन्द्रनगर । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-३ का वडाध्यक्ष विनोदसिंह विष्ट पक्राउ परेका छन् । विष्टलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेत डीएसपी लक्ष्मण शाहीले बताए ।
विष्टलाई उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटपाट गरेको आरोपमा पक्राउ गरिएको डीएसपी शाहीले बताए । बिहीबार वडाध्यक्ष विष्टसहित ३ जनाले उपभोक्ता समितिको ६ लाख ५० हजार रकम लुटेर फरार भएको उजुरी प्रहरीमा परेको थियो ।
वडाध्यक्ष विष्ट, सुशील गुरुङ, बलिराज शाहीले खोर्केखोला तटबन्ध उपभोक्ता समितिको रकम धम्क्याएर लगेको उजुरीमा उल्लेख छ । बिहीबार दिउँसो ३ बजेतिर टोल समिति अध्यक्षको घरबाट उनीहरुले रकम लिएका हुन् ।
उनीहरुले काम सिध्याएर बाँड्न लागेको रकम धम्क्याएर लगेको उपभोक्ता समितिका सदस्य दीपा खड्काले बताइन् । वडाध्यक्ष विष्ट यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका उपसचिवलाई मुक्का हानेर चर्चामा आएका थिए ।
उजुरीका आधारमा रातोपाटीमा प्रकाशित समाचारको विषयलाई लिएर वडाध्यक्ष विष्टले आफ्नो फेसबुक लाइभमा आएर धम्क्याउने काम गरेका थिए । गुरुङ र शाही शनिबार नै पक्राउ परेका छन् । उनीहरुले वडाध्यक्षलाई दुई लाख रकम दिएको प्रहरी समक्ष स्वीकार समेत गरेका थिए । विष्ट नेकपा एमालेबाट निर्वाचित वडाध्यक्ष हुन् ।