• फाल्गुन २६ २०८२, मंगलवार

नाटो नै युरोपको शान्तिको बाधक हो : स्पेनी विज्ञ पेरे ओर्टेगा

असार २३ २०८०, शनिबार

असार २३ गते । निःशस्त्रीकरण र शान्ति स्थापनाका निम्ति लामो समय योगदान गरेका स्पेनी विद्वत् समूहका विज्ञ पेरे ओर्टेगाले उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) युरोपको शान्तिको लागि बाधक भएको बताएका छन् ।

सिन्ह्वासँगको विशेष अन्तर्वार्तामा उनले नाटोको निरन्तर अस्तित्वको अर्थ युरोपमा दिगो शान्ति बहालीका निम्ति बाधक भएको बताए । “इयूको स्थापना अन्तर-युरोपेली द्वन्द्वबाट बच्नको लागि भएको हो, इयूका सदस्य राष्ट्रले यो हासिल पनि गरेका छन् तर हामी अमेरिकी सैन्य हस्तक्षेपबाट मुक्त हुन सकेनौँ ।,” युरोपेली देशका विदेश नीतिकै कारण संयुक्त राज्य अमेरिका र उसका नाटो सहयोगीको सशस्त्र सैन्य हस्तक्षेपप्रति विमति जनाउँदै उनले यसो बताए ।

नाटो संयुक्त राज्य अमेरिका र पश्चिमी पुँजीवादी गुटको सशस्त्र शाखा बनेको, शीतयुद्धको अन्त्यपछि नाटोले आफूखुसी हस्तक्षेप र बमबारी गर्न थालेपछि युद्ध र क्षेत्रीय द्वन्द्व बढेका, निःशस्त्रीकरण र शान्तिसम्बन्धी विषयमा पैरवी गर्ने बार्सिलोनामा मुख्यालय रहेको स्वतन्त्र अनुसन्धान केन्द्रका विज्ञ ओर्टेगा ठोकुवा गर्छन् । शीत युद्धको अन्त्यपछि नाटोले नयाँ शत्रुहरू खोजिरहेको उनले बताए ।

नेटोले पूर्वसोभियत सङ्घका नेता मिखाइल गोर्बाचेभलाई रुसको सिमानामा विस्तार नगर्ने बाचा गरेको तर त्यसलाई उसले पूरा नगरेको आर्टेगाको भनाइ छ । सन् १९९० को दशकदेखि नाटोको पूर्वतर्फ विस्तार र यसले रुसमाथि थपेको दबाबका कारण युक्रेन सङ्कट निम्तिएको उनी बताउँछन् ।

ओर्टेगाका अनुसार यो विस्तारवादी नीतिको अधिकांश देशहरूले विरोध गरिरहेका छन् । विश्वलाई अझ खतरनाक ठाउँ बनाउनु र टकरावतर्फ अघि बढ्नुको सट्टा साझा सुरक्षाको ग्यारेन्टी गर्ने साझेदारीतर्फ अघि बढ्नुपर्नेमा जोडदिँदै उनले संयुक्त राष्ट्रसङ्घ र अन्तर्राष्ट्रिय समुदायले अवलम्बन गर्नुपर्ने बाटो पनि त्यही भएको तर्क गरेका छन् ।