नयाँ दिल्ली । भारतको मध्य प्रदेशमा एक जना आदिवासी समुदायका कामदारमाथि सार्वजनिकस्थलमै मूत्र विसर्जन गर्ने व्यक्ति भारतीय जनता पार्टी भाजपाको कार्यकर्ता भएको पाइएको छ ।
भारतीय संचारमाध्यमका अनुसार प्रवेश शुक्ला नाम गरेका उनलाई प्रहरीले गिरफ्तार गरिसकेको छ । उनलाई अनुसूचित जाति र अनुसूचित जनजाति अत्याचार रोकथाम ऐन अन्तर्गत मुद्दा चलाइनेछ ।
उनले यस्तो अमानवीय हर्कत गरेको भिडियो र फोटो नै सार्वजनिक भएपछि देशभरका आदिवासी तथा जनजाति समूहले विरोध जनाएका थिए । सोझो र इमानदार व्यक्तिलाई हेपेर प्रवेशले त्यस्तो कार्य गरेको भन्दै उनलाई कडाभन्दा कडा सजाय दिन आग्रह गरिएको छ ।
कांग्रेस नेता राहुल गान्धीले भाजपाको सरकारमा आदिवासी र दलित समुदाय झनै प्रताडित हुनुपरेको अभिव्यक्ति दिएका छन् ।
विपक्षी पार्टीहरुले पनि ती व्यक्ति भाजपाको कार्यकर्ता हो भनिरहेका छन् तर यस विषयमा भाजपाले कुनै प्रतिक्रिया दिएको छैन ।
प्रवेश शुक्लाले भाजपाका नेताहरूसँग फोटो खिचेको पनि देखिएको छ ।