प्रकृतिले अहिलेसम्म हामीलाई निरन्तर आवश्यकताअनुसार पानी उपलब्ध गराउँदै आएको छ । तर त्यस्को अन्धाधुन्ध दोहनका कारण स्वच्छ जलको उपलब्धता अत्यन्तै कम हुँदै गएको छ ।
विश्वका लगभग डेढ अरब मानिसलाई पिउनका लागि शुद्ध पानी उपलब्ध भइरहेको छैन । पानीको कमीका कारण वातावरण एव जलवायु चक्र निरन्तर प्रभावित भइरहेको छ ।
फलतः जलवायु परिवर्तनको समस्या पनि हाम्रोसामु आइसकेको छ । जल एवम् जलवायुको अनन्य सम्बन्ध रहेको छ । दुबै एक अर्काको सहयोगी एवम् पूरक हुन् ।
दुवै अन्योन्याश्रित हुन् । आज पूरै विश्व ‘जलवायु भनेकै जल र जल भनेकै जलवायु’ हो भन्ने मान्यता (वाटर इन कलाइमेट एण्ड कलाइमेट इज वाटर) को कुरा पूर्ण रूपले स्वीकार्दै छ ।
यिनैमध्ये कुनै एकमा परिवर्तन आएमा अर्काे स्वतः प्रभावित हुनु अनिवार्यजस्तो छ । क्षेत्र विशेषमा जलको मात्रा त्यहाँको वातावरणलाई नभई बरू सम्पूर्ण जलवायुलाई पनि प्रभावित गर्दछ ।
जलको मात्रामा कम वा बढी भएमा जलवायुमा निरन्तर परिवर्तन भइरहन्छ । यसलाई दृष्टिगत गर्दै २० मार्च २०२० मा मनाइएको जल दिवसको मुल नारा पनि जल र जलवायु परिवर्तन नै संयुक्त राष्ट्र संघद्वारा निश्चित गरिएको थियो ।
जल तथा जलवायुको सम्बन्धमाथि विचार गर्दै जलवायु परिवर्तनले प्रकृति एवम् जीवनमा पारेको दुष्परिणाममाथि नियन्त्रण पाउने दिशामा काम गर्ने निश्चिय गरिएको थियो ।
स्थान विशेषमा विद्यमान जलले जलवायुलाई मात्र नियन्त्रणमा राख्दैन, बरू त्यसलाई परिवर्तित हुनबाट पनि रोक्दछ । तर र वर्षाजल एवम् भूगर्भको जलस्तरमा निन्तर भइरहेको कमीबाट उत्पन्न जलसङ्कट आज स्वयम् विकराल समस्याको रूपमा हाम्रो सामुन्ने उभिएको छ ।
अनियन्त्रित औद्योगिकीकरण तथा कृषि उत्पादनमा निरन्तर बढोत्तरीका लागि भूजलको अत्याधिक दोहनले भूगर्भको जलस्रोतलाई निरन्तर कम गराउँदै लागेको छ ।
भूगर्भको जलस्तरमा भइरहेको कमीले वातावरण पनि प्रभावित हुँदैछ । पानीको अधिकताले वातावरणमा चिस्यान एवम् शीतल तहहरू हुन्छ, त्यही यसको कमी हुँदा वातावरणमा अत्याधिक गर्मी तथा तापमान बढेर जान्छ ।
फलस्वरूप जलवायुमा परिवर्तन परिलक्षित हुने गर्दछ । यद्यपि जलवायु परिवर्तको मुलमा अनेकानेक कारणहरू छन् । तर त्यसमा हरितगृह ग्यास, अनियन्त्रित औद्योगीकरण, पृथ्वीको बढ्दो तापमान आदि प्रमुख छन् । यी तीनमा मुख्यकारण भूगर्भमा विद्यमान जलको कमीलाई मानिन्छ । भूजललाई संरक्षण गरेर त्यसमा बृद्धि गर्दै जलवायु परिवर्तित गराउने अन्य कारणमाथि नियन्त्रण गर्न सकिन्छ ।
यदि भूगर्भको जलस्तर बढेर पर्याप्त भयो र वातावरण प्रयाप्त चिसो भएमा भने जलवायु परिवर्तनका अन्य कारण अप्रासाङ्गिक हुने छन् । साथै, तिनले जलवायु परिवर्तनमा आफ्नो महत्वपूर्ण भूमिका निभाउन पाउने छैनन् । जलवायुलाई पृथ्वीको अनुकूल बनाइराख्नका लागि जलसंरक्षणको प्रमुख आवश्यकता छ ।
पृथ्वीको ७० प्रतिशत भाग पानीले भरिएको छ । यसमा एक अरब चालीस घनमिटर पानी विद्यमान छ । जलको यत्रो विशाल राशी उपलब्ध हुँदाहुँदै पनि यसमा पिउने पानीको मात्रा अत्यन्त कम छ ।
पृथ्वीमा विद्यमान पानीको ९७.३ प्रतिशत भाग समुद्रको जल छ । शेष २७ प्रतिशत पिउने योग्य पानी उपलब्ध छ । पिउन योग्य पानीको ७५.२ प्रतिशत जल धुर्वीय क्षेत्रहरूमा तथा २२.६ प्रतिशत भूगर्भमा जलको रूपमा अवस्थित छ ।
शेष २.२ प्रतिशत पिउनयोग्य जल नदीहरू तथा तालहरूमा पाइन्छ, जसको ६० प्रतिशत अंश कृषि एवम् उद्योगद्वारा प्रयोगमा ल्याइन्छ र शेष ४० प्रतिशत सिधै पिउन आदिमा उपयोग गरिन्छ ।
समस्त विश्वले गम्भीर जलसङ्कटको सामना गरिरहेको छ । यदि यस समस्या माथि शिघ्र ध्यान नदिने हो भने ती देशहरूमा पिउने पानी एक थोपा पनि बच्ने छैन ।
डब्ल्युआरआई विश्व श्रोत संस्थानले भूजल भण्डार एवम् त्यसमा आइरहेको निरन्तर कमी र बाढी एवम् खडेरीको जोखिमका आधारमा विश्वका १८९ देशहरूलाई त्यहाँ उपलब्ध पानीलाई दृष्टिगत गर्दै श्रेणीबद्ध गरेको छ ।
जलसङ्कटको मामलामा भारत विश्वमा १३ औं स्थानमा छ । उपलब्ध प्रतिवेदनमा अभिलिखित तथ्यहरू विश्लेषण गर्ने हो भने भारतको उत्तरी भागमा जलसङ्कट भूजलस्तर अत्यन्त तल गएको कारण गम्भीर अवस्था सिर्जना भएको तथ्य भेटिएको छ ।
नेपालको आफ्नै परिवेशमा पनि स्थिति फरक भने छैन । हाम्रा पहाडी बस्तीहरूमा पानीकै अभावका कारण गाउँहरू रित्तिने गरी बसाइसराइ भएको तथ्य भेटिन्छ । प्रायः पहाडी भागमा एक गाग्री पानी जोहो गर्न घण्टौं समय लाग्ने गरेको समाचार पनि कुनै नौलो रहेन ।
तराई–मधेशमा नलमा पानी १०० फिट भन्दा माथि पाउन दुरूह भएको अवस्था त विकराल बन्दै छ । हाम्रा सांस्कृतिक परम्परामा वर्षाको पानीलाई संरक्षित गर्नका लागि विशेष ध्यान दिइएको पाइन्छ ।
यसले् गर्दा ठाउँठाउँमा पोखरी, तलाउ, इनार आदि निर्मित गराइन्थ्यो । यस्ता जलभकारीमा वर्षाको जल एकतृत गरिने गरिएको हुन्थ्यो । त्यो पानी वर्ष भरिका लागि जीवजन्तुसहित मानिसका लागि उपलब्ध गरान्थ्यो ।
तर वैज्ञानिक प्रगतिको नाममा यिनलाई संरक्षण नदिइएको कारण अहिलेसम्म धेरैजसो नदीहरू तथा तालआदि सुकेर गएका छन् । अझ भूमाफियाको अवैध कब्जाको सिकार भएर आफ्नो अस्तित्व गुमाउने स्थितिमा छन् ।
यसको उदाहरण उपत्यकाका बागमती, विष्णुमती, टुकुचा, धोबीखोला, मनोहराको फाँट र तालैतालको सहर भनिएको पोखराको अवस्था हेरे पुग्दछ । फलस्वरूप तिनको पानीमा औद्योगिक कारखानाहरूबाट निक्लने फोहर पानी एवम् आवासीय फोहरमैला मिसिनाले धेरै प्रदुषित हुन गएको छ ।
पिउने पानी त यति धेरै प्रदुषित भएको छ कि पानी खानुको त के कुरा नुहायो भने अनेकौ रोगहरूबाट ग्रसित हुनसक्ने जोखिम बढेर गएको छ । हिन्दुहरूको लागि ‘कुम्भ नुहाउने’ पवित्र गंगानदी हिजो कुम्भस्थान गर्दा भलै स्नानयोग्य जलयुक्त थियो होला ।
तर आज कलकारखानाबाट फोहरमैला अनि प्रदुषित पानीको प्रभावले फोहर पानीको धारा बनेको छ । जसमा नुहाउनुभन्दा पहिले श्रद्धालुले केही बेर सोच्नु पर्ने भएको छ ।
हाम्रो कृषि पूर्णतया वर्षा जलमा निर्भर छ । वर्षा प्रयाप्त भएमा सिञ्चाइका अन्य साधन सुलभ हुन्छन् । तर वर्षा भएन भने सबै साधनले हातखुट्टा छाड्छन् अनि कृषिक्षेत्र खडेरीको मारमा पर्दछन् । स्पष्ट छ, जल प्रदुषणका अनेक श्रोतहरू छन्, जसले सामुहिक रूपले जललाई प्रदुषित गरिरहेका छन् ।
देशवासीको सामर्थ्य, सहयोग एवम् सङ्कल्पले वर्तमान जलसङ्कटको समाधान प्राप्त गर्न सकिन्छ । तर जलसंरक्षणको तौरतरीकालाई प्रयोगमा ल्याउनका लागि सरकारी सयंन्त्रहरूको भूमिका भने फरक छैन । किनभने सरकारी सयन्त्रहरू जलसंरक्षणका लागि प्रायःजसो वर्षा ऋतुमा त सक्रिय हुन्छन् र खानापुरी गरी आफ्नो कर्तव्यलाई इतिश्री मान्दछन् ।
आजको आवश्यकता भनेको जलसंरक्षणका लागि जनआन्दोलनको रूप दिनका लागि मात्र सरकार सक्रिय होस् । बरू, उसका विभिन्न निकायलाई सक्रिय पारियोस् । जसले गर्दा वर्षाको पानी त संरक्षण हुन्छ नै, बरू पानीको बरवादी पनि रोक्न सकिन्छ । किनकि एकातिर जहाँ जलसङ्कटले गम्भीर रूप लिइरहेको छ, त्यहि अर्कोतिर अनेक कार्यहरूमा जलको दुरूप्रयोग गरिदै छ ।
वर्षा त हरेक वर्ष हुने गर्दछ । तर हामी वर्षाको जललाई संरक्षित गर्न चुक्दछौ । आवश्यकता छ जलवायु परिवर्तनको दरलाई न्युन गर्दै प्रकृतिको स्वरूपलाई सहज एवम् सरल बनाउने । यदि हामीले वर्षाको जललाई संरक्षित गर्न सकेनौ भने जलवायुमा भइरहेको निरन्तर परिवर्तन तथा तापमानमा अप्रत्याशित वृद्धि मानवीय जीवन मात्र होइन, प्राणी बोटबिरूवाको जीवनको सामुन्ने प्रश्न चिन्ह उभिने छ ।
यसको सामाधान खोज्नु असंभव होला । तर यसका लागि सतत् विकासको मोडेलहरूलाई पर्यावरण एवम् मौसम अनुरूप बनाउनु जरूरी छ । मानवीय जीवनशैलीमा परिवर्तनका साथै हरितगृह ग्यासहरूलाई छिटो कम गर्ने प्रयास गर्नु पर्ने हुन्छ ।