काठमाडौं । युरोपेली राष्ट्र स्वीडेनमा मुस्लिम धर्मावलम्बीको धर्मग्रन्थ कुरान जलाएपछि इराकस्थित स्वीडिस दूतावासमा आक्रमण भएको छ ।
बुधबार स्वीडेनमा बसोबास गर्ने इराकी नागरिक सल्वान मोमिकाले स्वीडेनको झण्डा फहराउँदै मुस्लिमहरूको धर्मग्रन्थमा आगो लगाएपछि टर्की लगायतका विश्वभरका मुस्लिम बाहुल राष्ट्रहरूले यसको विरोध जनाइरहेका छन् ।
कुरान जलाएको थाहा पाएपछि टर्की लगायतका मुस्लिम बाहुल्य देशहरूले निन्दा गरेका थिए । बीबीसीका अनुसार स्टकहोल्मको एक मस्जिद बाहिर नै सल्वान मोमिकाले कुरान जलाएका थिए । यस घटनापछि नै इराकमा रहेको स्वीडेनको दूतावासमा रुष्ट मुस्लिम समुदायका भिडले आक्रमण गरेको बताइएको छ ।
टर्कीले अभिव्यक्ति स्वतन्त्रताको बहानामा इस्लामिक विरोधी कार्यहरू हुन दिनु अस्वीकार्य भएको बताएको छ । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोआनले भनेका छन्, ‘हामी अन्ततः अहंकारी पश्चिमीहरूलाई सिकाउनेछौं कि मुस्लिमहरूको अपमान गर्नु विचारको स्वतन्त्रता होइन ।’
सामाजिक सञ्जालमा पोष्ट भएको भिडियोमा दर्जनौं प्रदर्शनकारीहरू स्वीडिस दूतावास अगाडि जम्मा भएको देख्न सकिन्छ । एएफपी समाचार संस्था फोटोपत्रकारका अनुसार प्रदर्शनकारीहरू करिब १५ मिनेटका लागि दूतावासको भवनमा छिरेका थिए । तर सुरक्षाबल तैनाथ गरेपछि उनीहरु बाहिर निस्केका थिए ।