वीरेन्द्रनगर । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपाल ६ नं. प्रदेश सङ्गठन समितिको एकता अधिवेशन सकिएको छ । बैठकले भ्रष्टाचार गर्ने संस्थाहरूमाथि कारबाही गर्ने, वडासचिवदेखि मुख्यमन्त्रीसम्मको सम्पत्ति सार्वजनिक गर्न माग गर्ने लगायत निणर्य सम्पन्न गरेको छ ।
गर्दै यही असार १२ र १३ गते सुर्खेतमा बसेको बैठकले देशमा चौतर्फी रूपमा मडारिइरहेको सङ्कटबाट जनतालाई मुक्त गर्न वर्तमान दलाल पुँजीवादी संसदीय प्रणालीको अन्त्य गरेर श्रमजीवी जनताको वास्तविक व्यवस्था जनवाद तथा वैज्ञानिक समाजवाद स्थापना गर्न व्यक्ति होइन, व्यवस्था बदल्न जोड दिने निणर्य पनि गरेको छ ।
अधिवेशनले आउँदो २०८३ सालभित्र कर्णाली प्रदेशलाई शिक्षा र स्वास्थ्यमा निजीकरण मुक्त प्रदेश घोषणा गर्न प्रदेश सरकारसँग माग गर्ने, त्यसअन्तर्गत २०८० सालभित्रै राज्यद्वारा ज्येष्ठ नागरिकहरूको सम्पूणर् उपचार निःशुल्क घोषणा गर्न तथा मुटुरोग, मृगौला र क्यान्सर पीडितहरूको सम्पूर्ण उपचार राज्यद्वारा निःशुल्क गर्न सङ्घर्ष गर्ने, सरकारी कर्मचारी, जनप्रतिनिधि र राजनीतिकर्मीहरूको लगानी भएका निजी विद्यालयहरू बन्द गर्न चरणबद्ध कार्यक्रम गर्ने निणर्य गरेको छ ।
त्यसैगरी कृषिजन्य उत्पादनको राज्यद्वारा खरिद गर्ने नीति लागू गर्न राज्यसँग माग गर्ने, त्यसका लागि सङ्घर्ष गर्ने, प्रत्येक वडामा एउटा कृषि उपज सङ्कलन तथा बिक्री केन्द्र स्थापना गरी कृषिजन्य उत्पादनको आयातमा रोक लगाउने निणर्य पनि गरेको छ ।
प्रदेश संयोजक सङ्गमद्वारा जारी प्रेस वक्तव्यमा ‘सबै श्रमिक मालिक’ को नीति अन्तर्गत राष्ट्रिय औद्योगिक अभियान सञ्चालन गर्ने, २०८१ सालभित्र प्रत्येक पालिकामा एउटा पूर्ण सरकारी र एउटा ४९ प्रतिशत जनताको स्वामित्व भएको उद्योग स्थापना गर्न चरणबद्ध कार्यक्रम गर्ने, विभिन्न कारणले घरबासविहीन भएर कष्टकर जीवन भोगिरहेका जनतालाई प्रतिपरिवार ‘एक तले तीन कोठे एउटा घर र प्रतिव्यक्ति पाँच कट्ठा जमिन’ को माग राखेर आन्दोलन सञ्चालन गर्ने निणर्य गरिएको उल्लेख छ ।
त्यसैगरी लघुवित्तीय संस्थाहरू बन्दको कार्यक्रमलाई निरन्तरता दिँदै मिटरब्याजीहरूलाई जनकारबाही गर्ने, सहकारीहरूको अनुगमन गर्ने र भ्रष्ट सञ्चालकहरूलाई जनकारबाही गर्नुका साथै बैङ्कको ज्यादतीविरुद्ध सङ्घर्ष गर्ने, गणतन्त्र स्थापनापछि प्रथम स्थानीय निर्वाचन २०७४ यताका सम्पूणर् वडाध्यक्षदेखि मुख्यमन्त्रीसम्मको सम्पत्ति सार्वजनिक गर्न माग गर्ने र जनअनुगमन गर्ने निणर्य पनि बैठकले गरेको छ ।
प्रदेश समिति संयोजक संगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ,‘यति बेला देशको समग्र अवस्था सङ्कटपूर्ण रहेको, वर्तमान राज्य व्यवस्था, सत्ता सञ्चालक राजनीतिक पार्टीहरूप्रति जनताको ठूलो अविश्वास सडकमा प्रकट भइरहेको, यो एक असाधारण स्थिति रहेको र यस्तै-यस्तै बेला मुलुकहरूमा फासिवाद, प्रतिगमन वा क्रान्तिका परिवेशहरू तयार हुने भएकाले यो सङ्कटलाई एउटा नयाँ र अग्रगमनकारी व्यवस्थामा बदल्नु हरेक सचेत नेपाली नागरिकको अहम् कर्तव्य रहेको स्मरण गराइएको छ । पार्टीले जनतालाई निराश नहुन र अग्रगामी विकल्पको खोजी गर्न पनि अनुरोध गरेको छ । वक्तव्यमा भनिएको छ, ‘इतिहासका निर्माता श्रमजीवी जनता र केवल श्रमजीवी जनता मात्रै हुन् ।’