बहुमतीय प्रवृत्तिले राजनीतिलाई अर्थकेन्द्रित गरायो । अर्थोपार्जनकै निम्ति राजनीतिमा आवद्ध हुन अभिप्रेरित गरायो । नेता रिझाई सत्तामा पुग्न र टिकिरहन अग्रसर बनायो । यसको प्रभावले नेतालाई आपराधिक कार्यमा संलग्न गरायो ।
नेता अपराधी बन्ने क्रम बढ्दै आउनुको कारण पनि यही हो । लाभमुखी राजनीतिले अहिले मुलुकलाई सङ्कटग्रस्त बनाउँदै ल्याएको छ । सिद्धान्तको राजनीति विस्थापित हुँदैछ ।
तथापि, नेता भने लाभमुखी राजनीतिबाट अलग्गिन चाहँदैनन् । यसको प्रमुख कारण पनि नेता एवम् उनीहरूकै परिवारको स्वार्थ हो, जसले देश र जनताको स्वार्थलाई लत्याउँदै आएको छ ।
नेपाली जनतामा राजनीतिक चेतना विकसित भैसकेको छ । तर पनि जनताले नेताको कार्यशैलीलाई भन्दा बहुमतलाई महत्व दिने गरेका छन् । यसले नेपाल र नेपालीको स्वार्थलाई भन्दा आफ्नै हितलाई सर्वोपरी मान्ने सोचलाई मलजल गरिरहेको छ ।
आफूले छान्ने नेता देश र जनताको नेता बन्न सक्ने व्यवहार र कार्यशैली भएको नेता हो वा होइन भन्ने कुरामा मतदाता संवेदनशील नहुँदा सङ्कुचित मानसिकताका व्यक्ति नै राजनीतिमा अगाडि सर्दै आएका छन् । राजनीतिक अपराधको अन्त्य नभएसम्म देश र जनताको हित हुँदैन ।
केही दलीय शीर्षस्थ नेताहरू वर्षौसम्म एकै निर्वाचन क्षेत्रबाट चुनिँदै आएका छन् । निर्वाचन क्षेत्रका जनताले प्रदान गरेको मतको आधारमा केही शीर्षस्थ नेताको विकल्प सो क्षेत्रमा नभएको प्रमाणित हुन्छ । विकल्प नसोच्नुको कारण पनि निर्वाचन क्षेत्र केन्द्रित नेताको लोकप्रिय नै हो ।
नेताले निर्वाचन क्षेत्र परिवर्तन गरी चुनाव लडे उनीहरूको जित सुनिश्चित हुँदैन भन्ने ठानेरै कतिपय नेताहरू निर्वाचन क्षेत्र परिवर्तन गर्न चाहँदैनन् । तर तिनै शीर्षस्थ नेता अन्य क्षेत्रका जनताको निम्ति पनि किन उतिकै लोकप्रिय हुन सक्दैनन्, यो सोचनीय विषय बनेको छ ।
प्रधानमन्त्री बनिसकेका व्यक्ति सङ्कुचित मानसिकताबाट माथि उठ्न नसक्दा नेपालको राजनीति उदार बन्न सकिरहेको छैन । नेतालाई प्राप्त सर्वाधिकारले नेतृत्व स्वेच्छाचारी बनाएको छ । त्यसैले पनि नेताका ‘रबर स्ट्याम्प’ संसदमा पुगेका छन् ।
यसले नेताहरूलाई दलीय बहुमत आफ्नै पक्षमा पार्न मद्दत गरिरहेको छ । दलभित्र मजबुद बनेपछि परिवर्तनकारी वैकल्पिक नेताहरूले चाहेर पनि उनीहरूलाई हल्लाउन सकेका छैनन् । आज यिनै यथास्थितिवादी नेता राष्ट्रिय राजनीतिमा हाबी हुन पुगेका छन् ।
सचेत नागरिकहरूले नबुझेका कुरा भनेको के हो भने दलीय शीर्षस्थ नेतामा परिवर्तनकारी सोच छैन । उनीहरू कार्यशैलीका हिसाबले भन्दा पनि बहुमतको डण्डाले जस्तोसुकै कार्य गर्न पनि पछि परेका छैनन् ।
कुरा त कतिसम्म पनि हुन गएको छ भने शीर्ष नेताका यिनै प्रवृत्तिको छहारीमा अपराधीले आश्रय पाउँदै आएका छन् । नक्कली भुटानी शरणार्थी प्रकरण यही सङ्गठित अपराधको पछिल्लो परिस्कृत दृष्टान्त बनेर सार्वजनिक भएको छ ।
राजनीतिमा नेता बहुमतको होइन, बरू विचार र कार्यशैलीको हुनुपर्छ । तर यसको अभावका कारण दुरदृष्टिको अभाव, नेता र समाजको दबाब र प्रभाव एवम् लाभ प्रभावित जनमानसिकता जब्बर बनेर गएको छ ।
बहुमतले व्यक्ति विजयी गराउँछ, बहुमतकै आधारमा सत्तामा पनि पुर्याउँछ । तर सत्तासिन व्यक्तिको व्यवहार र कार्यशैलीमा भने बहुमतले कहिल्यै पनि परिवर्तन ल्याउन सक्दैन । यसले गर्दा राजनीतिक सुधार हुनसक्ने देखिदैन ।
सत्तामा ‘पटके’ बन्ने सङ्कुचित मानसिकता नै यसको ज्वलन्त उदाहरण हो । बहुमतले नेतालाई पदासिन गराउँछ, जिम्मेवारी र दायित्व प्रदान गर्दछ, अधिकार र कर्तव्य तोकिदिन्छ तर नेतालाई काम गर्ने तौरतरिका र कार्यशैली प्रदान गर्न सक्दैन ।
कार्यशैली त व्यक्तिमा हुने गुण हो । सुधारवादी मानसिकताका नेताले अरूको देखासिकीबाट पनि यसलाई ग्रहण गर्न सक्छन् । सुधारवादी व्यक्तिको कार्यशैली ‘बहुजन हिताय’ हुन आवश्यक छ ।
राजनीति र कार्यशैली परिपूरक मानिन्छन् । एकको अनुपस्थितिमा अर्को अपूर्ण हुन्छ । सत्तामा पुग्न र जनआकाङ्क्षा बबमोजिम सत्ता चलाउन बहुमत र कार्यशैली दुवै महत्वका कुरा हुन् ।
तर देशको राष्ट्रिय राजनीति अहिले मतिविनाको बहुमतीय मानसिकताका नेताद्वारा प्रभावित बन्दै आएको छ । यो मानसिकता उदारवादी राजनीतिको बाधक हो । उदारवादी राजनीतिक व्यवहार सबैको निम्ति समान हुन्छ ।
यसले सबैको हित र भलाइ चाहन्छ । आमनागरिककै जीवनस्तरमा सुधार ल्याउने दृष्टिकोण राख्छ । स्वार्थ रहित हुन्छ । विभेदित व्यवहारविरुद्ध हुन्छ । जनमुखी विकास र समृद्धिमा केन्द्रित रहन्छ ।
जनताको पीरमर्का र समस्यालाई आफ्नै ठान्छ । नागरिक हकअधिकार सुनिशिचत गर्न कटिबद्ध हुन्छ । कानुनी राज्य स्थापित गर्न दृढ हुन्छ । स्वेच्छाचारितामा होइन, विधिमा राज्य सञ्चालन गर्न यसले सहयोग पुर्याउँछ ।