उमेरले ८० वर्षको बिहानीमा प्रवेश गरिसकेका बूढा बुवा हातमा बाँसुरी र काँधमा जाबी भिरेर जङ्गलमा बाख्रा चराइरहेका थिए । बाँसुरीको सुमधुर धुन र बाख्राको घाँटीमा बाँधिएको घण्टीको आवाजले वनजङ्गल भरिलो भइरहेको थियो ।
बूढा बुवा बाटोमा झरे, जङ्गलबाट । हातमा बाँसुरी लिएर फुक्न थाले । क्षणभरमा बाख्रा उनका वरिपरि जम्मा हुँदै गए । उनले चारैतिर नजर दौडाएर मनमनै बाख्रा गने । अनि अघिअघि हिँड्न थाले, बाख्रा उनका पछिपछि लागे ।
बाटामा हिँड्ने जो कसैले पनि उनलाई श्रीकृष्णको बाँसुरीको धुन बजाउन अनुरोध गर्ने गर्छन् । अरूले अनुरोध नगरे पनि उनले त्यो धुन बजाइरहन्छन् । त्यो धुन अहिलेका कुनै पनि आधुनिक धुनसँग मेल खाँदैन । लाग्छ, शायद यो द्वापर युगकै श्रीकृष्णको धुनको निरन्तरता पो हो कि !
बाँसुरीको धुन बजाइसकेपछि भन्छन्, ‘श्रीकृष्णको मुरलीको धुन यस्तै थियो भन्ने हामीलाई थाह छैन । तर यही हो भनेपछि यसको सिको गरेका हौं । यसलाई ‘ग्वाले बाँसुरी’ र ‘ग्वाले धुन’ पनि भनिन्छ ।’
उनी कुरा थप्छन्, ‘श्रीकृष्णको पालामा गाईपालन निकै फस्टाएको थियो रे ! गाई माता भन्ने र पुज्ने परम्परा पनि श्रीकृष्णकै पालादेखि हुन गयो रे ! त्यति बेलाको धन अहिलेका जस्ता मोहर र रूपैयाँ थिएनन् । पशुधन थिए ।’
फेरि उनी बाँसुरीको धुनमा लागे । देख्ने मानिसलाई यो आश्चर्यजस्तो लागे पनि यो उनको दिनचर्या हो । यो धुनमा उनका पशुचौपाया रमाइरहेका मात्र छैनन् । उनलाई मनग्यै आर्थिक लाभ पनि दिलाएका छन् ।
‘पेँले कामी’ भनेपछि उनलाई अहिले गाउँमा पशुचौपायाको धनी मानिन्छ । त्यसो त उनको भौतिक श्रीसम्पत्ति पनि कम छैन । उनी परम्परागत सिप र कलामा पनि धनी छन् । उनको जत्तिको आरन अरूको चल्दैन । उनले हाल नगदमा काम गर्न थालिसकेका छन् ।
उनले बनाउने मादल त्यो क्षेत्रमा सबैभन्दा उच्च कोटीको मानिन्छ । उनी मादल र गीत गायनमा पनि उत्तिकै पारखी छन् । ‘माडीखोले ठाडी भाका’ उनको लोकप्रिय भाका हो । यो गीत उनका लागि जीवनदायी शीतलता हो ।
उनको जवानीको कोसेली पनि यही ठाडी भाका मानिन्छ । यो भाकामा रातभर मेलापर्व भरिन्थे । अहिले मेलापर्व पनि बदलिए र गीत भाका पनि बदलिए । गीत जेसुकै भए पनि र बदलिए पनि श्रीकृष्णको ग्वाले बाँसुरीको धुनले उनमा असिम आनन्द भर्छ ।
यो गीतले जवानीको ‘याद’ दिलाउँछ । उनको मन हराभरा भएर आउँछ । युवावयमा सुनेका श्रीकृष्णका कथा र लिलाको घुर्मैलो तर सुमधुर सम्झना हुन्छ । जीवनमा छाउने गरेका निराशा र पट्यारलाग्दा सोच र आलस्य फूमन्तर भएर भाग्छन् ।
उनका लागि ‘भुक्तने’ जीवन भुक्तने एउटा हुन्छ तर परिकल्पनाको रङ्गीन जीवन अर्कै हुन्छ । उनका लागि जीवन केवल ‘आशाको पोको’ हो र ‘मनको धोको’ हो ।
यथार्थ जीवन र सपना वा कल्पनाको जीवनको बिचमा पुलको काम यही श्रीकृष्णको ग्वाले बाँसुरीको धुनले गर्छ । किनकि यो धुन जीवन र कल्पनाको अनौठो संगम बनेर उनको जीवनमा अभिन्न रहँदै आएको छ ।