• मंसिर १४ २०८१, शुक्रबार

आन्तरिक उत्पादनलाई मद्दत पुर्याउन प्याज र आलुमा भ्याट लगाएका हौं : अर्थमन्त्री महत

असार ४ २०८०, सोमबार

विराटनगर । अर्थमन्त्री डा. प्रकाशशरण महतले आन्तरिक उत्पादनमा मद्दत पुगोस् र नेपाली उत्पादन प्रवद्र्धन होस् भनेर आयात हुने आलु र प्याजमा भ्याट लगाइएको स्पष्ट पारेका छन् ।

मोरङ व्यापार संघको ६६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै महतले भने,‘हामी कृषिप्रधान देश भन्छौँ, आलु प्याज यति अर्बको आयात गर्ने, आलु प्याज यहाँ उत्पादन गर्न नसक्ने ? जमिन बाँझो छाड्ने ? विदेशबाट किनेर मात्रै खाने ? भन्ने बहसलाई मध्यनजर राखेर आलु प्याजमा कर लगाएका हौं । आम उपभोक्तालाई मर्का पार्न यो कर लगाइएको होइन । यो भन्सार दरले किसानका धेरै संगठनले स्वागत गरेका छन् । आयातमा मात्र भ्याट लाग्ने हो, आन्तरिक उत्पादनलाई यसले छुँदैन ।’

‘अर्थतन्त्रको जीवनमा विराटनगर माथि थियो, अहिले तल झरेको छ । मलाई विश्वास छ, विराटनगर पूर्वको आर्थिक हबको रूपमा विकासित हुन्छ, साधारणसभालाई सम्बोधन गर्दै मन्त्री महतले भने, ‘यो क्षेत्रको विकास, यो क्षेत्रको व्यापार व्यवसाय र उद्योग प्रवर्दनका लागि नेपाल सरकार सम्पूर्ण रूपले साथमा रहन्छ ।’

कार्यक्रममा अर्थमन्त्री महतले अर्थतन्त्रमा समस्या धेरै रहेको बताए । उनले भने, ‘हाम्रो अर्थतन्त्रमा समस्याहरू छन्, यसअघि पनि मैले भनेकै हुँ, अहिले पुँजीगत खर्च कम भइरहेको छ । साधारण खर्च घटाउन सकिएको छैन । हाम्रो सामाजिक सुरक्षा र दायित्व बढी छ । विभिन्न किसिमका सौलियत, भत्ता हामीले प्रतिस्पर्धा गरेर नै दिऔँ । हाम्रो अर्थतन्त्रले कति धान्न त्यतातिर ध्यान दिएनौं, तर हामीले दिने प्रतिबद्धता गरे, त्यो प्रतिबद्धताबाट पछाडि हट्ने अवस्था रहेन । त्यसैले साधारण खर्च घटाउन सक्ने अवस्थामा हामी थिएनौं, तर प्रशासनिक खर्च हामीले कम गर्ने कोसिस गरेका छौँ ।’