• मंसिर १४ २०८१, शुक्रबार

एमसीसी परियोजना अन्तरगतको प्रशारण लाइन बनाउन ढिला गरे उत्पादित विद्युतको व्यवस्थापन गर्न सकिन्न : कुलमान

असार ३ २०८०, आईतवार

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले प्रसारण लाइन निर्माणमा समस्या आए अर्को वर्षदेखि विद्युतको माग र आपूर्ति व्यवस्थापन गर्न नसकिने बताएका छन् ।

उनले भने ‘हेटौंडादेखि न्यू बुटवलसम्मको एमसिसी परियोजना अन्तर्गतको चार सय केभीको प्रसारण लाइन बन्न ढिलो भयो भने हाम्रो उत्पादन खेर जानेछ ।’

विवादकै कारण पूर्व–पश्चिमको चार सय केभी प्रसारण लाइन बनाउन वर्षौं लागेको पनि उनको भनाइ छ । यसको लागि १० वटा जिल्लामा वन विभागबाट क्लियरेन्सको लागि तीन पटकसम्म वातावरण प्रभाव मूल्यांकन नै गर्नु परेको घिसिङले बताए ।

उनका अनुसार २२० केभीको भरतपुर बर्दघाट प्रसारण लाइनको निर्माण दुई–तीन वर्ष अदालतको स्टे अर्डरले रोकियो ।
२०७६ सालमा मन्त्रिपरिषदको बैठकले स्वीकृत गरेको वनको क्लियरेन्स हिजो मात्रै स्वीकृत भएको समेत उनले जानकारी दिए । २२० केभी लाइन नसकिँदा मोदी र कालिगण्डकी कोरिडोरका आयोजनाहरूबाट विद्युत प्रणालीमा जोडिन सकेको छैन ।
प्रसारण लाइन बनाउन ठूलो समस्या रहेको र यसमा राज्यले नै अग्रसरता लिनुपर्ने उनको भनाइ छ । यी प्रसारण लाइन बन्न सकेन भने अर्को वर्ष विद्युत आपूर्ति व्यवस्थापन गर्न नसकिने समेत स्पष्ट पारे ।

हाल पूर्व–पश्चिममा एक सय ३२ केभीको लाइन सञ्चालनमा छ । पूर्व–पश्चिमको चार सय केभीको लाइन सञ्चालनमा आएको छैन । हेटौंडादेखि भरतपुर र भरतपुरदेखि बर्दाघाटसम्मको २२० केभीको लाइन निर्माण सम्पन्न हुने क्रममा रहे पनि सञ्चालनमा आइसकेको छैन ।