• जेष्ठ २७ २०८२, सोमबार

मणिपुरमा जातीय हिंसाको कारण : जनजातिको अधिकार अपहरण

असार २ २०८०, शनिबार

काठमाडौं । भारतको मणिपुर राज्यमा जातीय हिंसा चर्किएको छ । कफ्र्यु जारी रहेकै समयमा विभिन्न स्थानमा झडप भएका छन् भने संघीय मन्त्रीकै घरमा आगजनी गरिएको छ ।

गत अप्रिल १९ मा मणिपुर उच्च अदालतले मैतेई समुदायलाई अनुसूचित जनजातिमा समावेश गर्न राज्यसहित केन्द्र सरकारलाई पनि सिफारिस पठाउन भनेपछि कुकी जनजाति आन्दोलित छन् । यहाँ कुकी जनजाति समूह र मैतेई समुदायबीच हिंस्रक जातीय संघर्ष सुरु भएको एक महिनाभन्दा बढी भएको छ ।

गत मे ३ मा कुकी समुदायको अल ट्राइबल स्टुडेन्ट्स युनियनले ‘आदिवासी एकता मार्च’ निकालेपछि मणिपुर रणभूमिजस्तै अवस्थामा परिणत भएको अवस्था छ । मैतेई अनुसूचित जातिमा सूचीकृत हुनु हुँदैन भनेर कुकीले सुरु गरेको आन्दोलन विस्तारै सशस्त्र आन्दोलनमा रूपान्तरण भएको छ ।

कुकी जनजाति समूहले स्थानीय मैतेई समुदाय, अदालत र सरकारविरुद्ध प्रदर्शन गरिरहेका छन् । अहिले कुकी जनजातिका सशस्त्र समूह सरकारी सेना र प्रहरीसँग युद्ध लडिरहेका छन् । कुकीले मैतेई समुदायको घर तथा मन्दिरमा आक्रमण गरिरहेको छ भने मैतेईले पनि कुकीका चर्च र घरहरूमा तोडफोड गरिरहेको छ ।

सोही आक्रोशित भीडले संघीय मन्त्रीकै घरमा बिहीबार आगो लगाइदिएका छन् । बिहीबार राति सयौंको भीडले केन्द्रीय विदेश मामिला र शिक्षा राज्यमन्त्री आरके रन्जन सिंहको घरमा आगो लगाइदिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । मन्त्रीको घरमा ९ जना प्रहरी र ५ जना सुरक्षागार्ड सुरक्षा दिन बसेका थिए । तर, १२ सय बढीको भीड एक्कासी घरमा पुगेपछि उनीहरू निरीह बने । तर, कुन समूहले मन्त्रीको घरमा आगजनी गरेको भनेर केही खुलाइएको छैन ।

आक्रोशित भीडले तोडफोड मच्चाउँदै र पेट्रोल बम प्रहार गर्दै भाजपाका सांसद सिंहको घरमा आगजनी गरिदिएका हुन् । तर, घटना हुँदा मन्त्री र उनका परिवार त्यहाँ थिएनन् । कफ्र्यु जारी भएकै समयमा सुरक्षाकर्मीको अगाडि नै मन्त्रीको घरमा आगो लगाइएपछि हिंसा अझै चर्किने आशंका गरिएको छ । बिहीबार मात्र त्यहाँ कुकी जनजाति र मैतेई समुदायका नागरिकबीच झडप हुँदा ९ जनाले ज्यान गुमाएका थिए ।

मणिपुरका मुख्यमन्त्री एन वीरेन सिंहका अनुसार कुकी समूहका सशस्त्र लडाकुहरूलाई खोज्न हेलिकप्टरसहित १० हजार सेना र आसाम राइफल सक्रिय छन् । टाइम्स अफ इन्डियाका अनुसार द्वन्द्वमा दुवैतर्फ गरी एक सयभन्दा बढीको मृत्यु भइसकेको छ भने करिब ४० हजार सर्वसाधारण विस्थापित भएका छन् ।

मैतेई समुदायलाई अनुसूचित जनजातिमा सूचीकृत गरिएमा वन क्षेत्रमा कायम पुख्र्यौलीदेखिको आफ्नो नियन्त्रण गुम्ने र शैक्षिक संस्थामा पनि आफ्नो हिस्सा खोसिनेमा कुकी समुदाय चिन्तित छ । इन्टरनेट सेवासमेत बन्द गरिएको मणिपुरमा प्रदर्शनकारी देख्नासाथ गोली चलाउने आदेशसहित सुरक्षाकर्मी तैनाथ गरिएका छन् ।