• मंसिर २० २०८१, बिहीबार

सुपर कम्प्युटर भन्दा १८ करोड गुणा शक्तिशाली क्वान्टम कम्प्युटर बनाएको चिनियाँ वैज्ञानिकको दाबी

जेष्ठ ३१ २०८०, बुधबार

सुपर कम्प्युटर भन्दा १६ करोड गुणा शक्तिशाली क्वान्टम कम्प्युटर बनाएको चिनियाँ वैज्ञानिकको दाबी
काठमाडौं । चिनियाँ वैज्ञानिकले क्वान्टम कम्प्युटिङमा अर्को कोसेढुङ्गा हासिल गरेको दाबी गरेका छन् ।

उनीहरूले आफ्नो ‘जिउजाङ क्वान्टम कम्प्युटर’ आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सम्बन्धीका काममा विश्वको सबैभन्दा शक्तिशाली सुपर कम्प्युटरभन्दा १८ करोड गुणा शक्तिशाली भएको घोषणा गरेका छन् ।
जिउजाङ क्वान्टम कम्प्युटरलाई डाटा माइनिङ, जैविक जानकारी पत्ता लगाउन, नेटवर्क विश्लेषण गर्न र रासायनिक मोडलिङजस्ता अनुसन्धानमा प्रयोग गर्न सकिने उनीहरूले बताए ।

‘हाम्रो काम अहिलेका मध्यम क्षमताका क्वान्टम कम्प्युटर प्रयोग गरी वर्तमान विश्वका समस्या समाधान गर्नेतर्फको कदम हो,’ चीनको विज्ञान र प्रविधि विश्वविद्यालयका भौतिकशास्त्री प्यान जियानवे नेतृत्वको टिमले भनेको छ ।

प्यान जियानवेलाई चीनमा क्वान्टमका पिता भनेर समेत भनिन्छ । यससम्बन्धी चिनियाँ अन्वषेकको लेख गत महिना ‘फिजिकल रिभ्यू लेटर’ जर्नलमा प्रकाशित भएको थियो ।

चिनियाँ अन्वेषकको टोलीले सामान्य कम्प्युटरका लागि चुनौतीपूर्ण समस्या क्वान्टम कम्प्युटरबाट समाधान गरेका थिए । उक्त समस्या समाधान गर्न क्वान्टम कम्प्युटरले दुई लाख भन्दा बढी नमुना प्रशोधन गरेको थियो ।

अन्वेषकहरूले क्वान्टम कम्प्युटरलाई ‘रेन्डम सर्च’ र ‘सिमुलेटेड एनिलिङ’ गर्न लगाएका थिए । एल्गोरिदमबाट यसरी खासगरी एआईमा मात्रै काम गरिन्छ । हालको सबैभन्दा तीव्र क्लासिकल सुपर कम्प्युटरले प्रत्येक नमुना समाधान गर्न ७०० सेकेन्ड लगाउँछ । यसको अर्थ दुई लाख नमुना प्रशोधन गर्न सुपर कम्प्युटरबाट करिब पाँच वर्ष लाग्ने छ ।

जिउजाङ क्वान्टम कम्प्युटरले भने यी सबै नमुना एक सेकेन्डभन्दा कम समयमा समाधान गरेको हो । यसअघि क्वान्टम कम्प्युटरले कुनै पनि समस्या समाधान गर्न एल्गोरिदमसँगै काम नगर्ने चुनौती भएको भनिएको थियो तर, यो अझै पनि कुन हदसम्म सफल भयो भन्ने प्रश्न बाँकी रहेको चिनियाँ अन्वेषकहरूको अनुसन्धान लेखमा भनिएको छ ।