काठमाडौं । पशुपति क्षेत्र विकास कोषले पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीमा १० केजी सुन नहराएको दाबी गरेको छ ।
मंगलबार संघीय संसद् राष्ट्रिय सभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठकमा कोषका सदस्य–सचिव डा. मिलनकुमार थापाले जलहरीमा १० केजी सुन नपुगे आफू फाँसीको सजाय भोग्न तयार रहेको बताए ।
आफूले पटक–पटक जलहरीको सुन तौल लिन गरेको आग्रहलाई बेवास्ता गरेर राज्यले आफूलाई ‘चोर’ करार गर्न खोजेको भन्दै सदस्य सचिव थापाले आँशु झारे ।
बैठकमै आँशु झारेका थापाले आफूलाई राज्यले कमजोर बनाएको बताए । उनले आफ्नो बेइज्जत भएको पनि गुनासो गरे । सदस्य सचिव थापाले जलहरी प्रकरणको विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानबिन नगरी जथाभावी आरोप लगाउन नमिल्ने पनि बताए ।
‘१० केजी सुन शिवले पहिरिएर राख्नुभएको छ । कि जोख्दा खेरी थाहा हुन्छ नि पित्तल हाल्यो कि चाँदी हाल्यो । यदि १० केजी सुन पुगेन भने मलाई मृत्युदण्ड दिँदा हुन्छ । म मृत्युदण्ड लिन तयार छु । आज मेरो गाउँभरि बेइज्जत भयो । मेरो दुई जना सन्तान छन् । गहभरी आँशु पार्दै अन्यथा नलिनु होला । म कमजोर होइन । तर राज्यले कमजोरी बनायो नि त । आयोगले छानबिन गर्न नपर्ने ?,’ थापाले भने ।
उनले यथार्थ नबुझेर सञ्चारकर्मीले आफूलाई ‘सुनचोर’ बनाएको दाबी गरे । ‘हाम्रा पत्रकार साथीहरूले यथार्थ नबुझिकन सुनचोर भनेर निकालिदिनु हुन्छ । मेरा दुइटा बच्चा छन् । मेरो बच्चाको भविष्य अन्धकार बनाइदिने ? राज्यको त्यही नीति हो ?,’ उनले प्रश्न गरे ।
उनले जलहरीबारे आफूले महालेखा परीक्षकको कार्यालयमा यथार्थ जानकारी गराउँदा पनि गलत ढंगले प्रतिवेदन आएको दाबी गरे । बैठकमा सांसदहरूले जलहरी प्रकरणबारे सदस्य सचिव थापासँग जिज्ञासा राखेका थिए ।