• मंसिर २० २०८१, बिहीबार

५२ वटा स्याटेलाइट अन्तरिक्षमा छोडेर ८ मिनेटमै पृथ्वीमा फर्कियो फाल्कोन

जेष्ठ २९ २०८०, सोमबार

काठमाडौँ । इलन मस्कको अन्तरिक्ष कम्पनी स्पेस एक्सले सोमबार ५२ वटा स्टारलिंक स्याटेलाइट पृथ्वीको तल्लो कक्षमा छाडेको छ । स्पेस एक्सको फाल्कोन–९ बुस्टर रकेट ५२ वटा स्टारलिंक स्याटेलाइट बोकेर अमेरिकी समय अनुसार सोमबार बिहान ३ बजेर १० मिनेटमा फ्लोरिडास्थित प्रक्षेपण केन्द्रबाट लन्च भएको थियो ।

लन्च भएको ८ मिनेट ३० सेकेन्डमा फाल्कोन–९ को बुस्टर पुनः पृथ्वीमा फर्किएको थियो । बुस्टर स्पेस एक्सको एट्लान्टिक महासगरमा रहेको अवतरण स्थलमा फर्किएको थियो । यस वर्ष उक्त बुस्टर रकेटको ९औं प्रक्षेपण र अवतरण हो ।

रकेटको माथिल्लो भागमा रहेको स्टारलिंकका ५२ वटा स्याटेलाइटहरू पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो । प्रक्षेपण भएको ६५औं मिनेटमा ती स्याटेलाइटहरूलाई पृथ्वीको तल्लो कक्षमा छाडिएको थियो । हालसम्म स्पेस एक्सले ४ हजार ५ सयभन्दा बढी स्टारलिंक स्याटेलाइट अर्बिटमा राखिसकेको छ ।

तीमध्ये ४ हजार २ सय वटा सञ्चालनमा रहेको खगोलशास्त्री जोनाथलन म्याडेवलले बताएका छन् । इलन मस्कले स्टारलिंक मेघा कन्स्टिलेसन निर्माणका लागि १२ हजारवटा स्याटेलाइट राख्ने अनुमति पाएका छन् । यस्तै, स्पेस एक्सले थप ३० हजारवटा स्याटेलाइट राख्नका लागि अनुमति पनि माग गरेको छ ।