काठमाडौँ । नेपाल समाजवादी पार्टीले नेपालको अर्थतन्त्र ऋणको पासो ‘डेब्ट ट्य्राप’ मा परिसकेको जनाएको छ । दलको केन्द्रीय समितिको तेस्रो पूर्ण बैठकले पारित गरेको प्रस्तावमा पुँजीगत खर्चको अंशभन्दा वित्तीय व्यवस्थापनको अंश बढी हुनु ‘डेब्ट ट्य्राप’ (ऋणको पासो)को संकेत भएको जनाएको छ ।
‘पुँजीगत खर्चको अंशभन्दा वित्तिय व्यवस्थापन अर्थात् ऋणको सावाँ, ब्याजको भार बाढी हुने देखिएको छ‚, नेसपाले जारी गरेको प्रस्तावमा भनिएको छ, ‘यसले हाम्रो कमजोर अर्थतन्त्र ऋण पासोमा परिसकेको प्रष्ट संकेत गरेको छ ।’ सो दलले अर्थतन्त्रमा विद्यमान संरचनागत समस्या हल गर्न र वर्तमान अवस्थामा मुलुकको संकटग्रस्त आर्थिक क्षेत्रमा देखापरेको समस्याहरूमा बजेट उदासीन रहेको जनाएको छ ।
नेसपाले व्याप्त आर्थिक मन्दी, बैंकिङ प्रणालीमा रहेको उच्च ब्याजदर, तरलता अभाव र साना उद्यमी व्यवसायीहरूले झेल्नुपरेको समस्या समाधानका लागि सरकारको ध्यानाकर्षण गराएको छ । २०८०(८१ को बजेटले अर्थतन्त्रको धरातलीय यथार्थता र संरचनागत समस्यालाई नजरअन्दाज गरेको पार्टीको आरोप छ । ‘केही सामान्य प्रशासनिक तथा नीतिगत सुधारका कुरा उठाए पनि बजेट विगतकै निरन्तरता रहेको छ‚’ प्रस्तावमा भनिएको छ ।
सो पार्टीले भारतीय संसद्मा राखिएको अखण्ड भारतको नक्सा आपत्तिजनक भएको भन्दै त्यस विषयमा कूटनीतिक नोट पठाएर भारत सरकारको ध्यानाकर्षण गर्न माग गरेको छ ।
‘राष्ट्रिय हितलाई केन्द्रबिन्दुमा राख्दै स्वतन्त्र परराष्ट्र नीति अवलम्बन गर्न तथा सन्तुलित बाह्य सम्बन्ध सञ्चालन गर्न माग गर्दै नेपाल–भारतबीच उत्पन्न सीमा विवाद सम्बन्धमा यथाशीघ्र वार्ता प्रक्रिया सुरु गरी कूटनीतिक तवरबाट हल गर्न सरकारसमक्ष यो बैठक अपिल गर्दछ,’ सो पार्टीले पारित गरेको प्रस्तावमा भनिएको छ,‘साथै भारतीय संसद्मा अखण्ड भारतको आपत्तिजनक नक्सा राखेको सन्दर्भमा सरकारले भारत सरकारको ध्यानाकर्षण गराओस् भन्दै कूटनीतिक पहलबाट समस्याको हल खोज्न यो बैठक नेपाल सरकार समक्ष माग गर्दछ ।’