• जेष्ठ २८ २०८२, मंगलवार

गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित बजेट नसच्याए यो सरकार ढल्छ : माधव नेपाल

जेष्ठ २८ २०८०, आईतवार

काठमाडौँ । नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनको सरकार ढल्ने आशय व्यक्त गरेका छन् ।

आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले सत्ता गठबन्धन ५ वर्षै चलाउनुपर्ने र त्यसका लागि प्रयास गर्ने भएपनि बजेट यथास्थितिमा पास भए सरकार ढल्ने बताए ।

अध्यक्ष नेपालले बजेटमा सबैजना असन्तुष्ट रहेको उल्लेख गर्दै प्रधानमन्त्री र अर्थमन्त्रीको लचकता नदेखाए सरकार दुर्घटनामा जाने चेतावनी दिए । उनले बजेट गोरखा, डडेलधुरा र नुवाकोट केन्द्रित भएको बताउँदै आएका छन् । साथै पार्टीले पनि बजेट यथास्थितिमा पास गर्न नदिने अडान लिइरहेको छ । यद्यपी नेकपा एस दुई मन्त्रालयसहित सरकारमा सहभागी छ ।

सत्तापक्षकै सांसदहरुले बजेट आवश्यकता अनुसारको नभएको टिप्पणी गर्दै आइरहेका छन् । सत्तापक्षकै सांसदहरु बजेटमा असन्तुष्टि देखिनु र प्रतिपक्षले पनि बजेटप्रति राम्रो धारणा नबनाउनुले सत्ता गठबन्धनको सरकार टिक्ने वा ढल्ने भन्नेमा आम नागरिकमा आशंंका उत्पन्न भएको छ ।

अध्यक्ष नेपालले भारतीय नयाँ संसद् भवनमा अखण्ड भारतको नक्सा राख्नेकुरालाई भारतले नेपाली मनोभावना बुझ्न जरुरी रहेको बताए ।