• मंसिर २० २०८१, बिहीबार

जहाज किन्न नदिने पापी मनहरुले घेराबन्दी गरे : मन्त्री किराँती

जेष्ठ २५ २०८०, बिहीबार

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँतीले आफूविरुद्ध पापी मनहरूले घेराबन्दी गरेको बताएका छन् । खोटाङको दिक्तेल बजारमा जडान गरिएको अग्नि नियन्त्रण यन्त्र उद्घाटन कार्यक्रममा उनले तीनवटा सानो जहाज किन्ने प्रक्रिया थालेपछि पापी मन भएकाले घेराबन्दी गरिरहेको बताए ।

‘घाटामा गएको नेपाल वायुसेवा निगमलाई मैले मन्त्रालय सम्हालेको करिब तीन महिनामै चार अर्ब ऋण घटाएको छु । अहिले हामी तीनवटा जहाज किन्ने प्रक्रियामा छौँ । हवाईजहाज किन्न नदिन संसारभरका पापी मनहरूले घेराबन्दी गरिरहेका छन्, मन्त्री किराँतीले भने, ‘तपाईंहरूको साथ पाएँ भने प्रक्रिया र प्रणालीमा पारदर्शी तरिकाले पाँच पैसा घोटाला हुन नदिने गरी जहाज ल्याउँछौँ ।’

मन्त्रालयले खरिद गरेर ल्याइने दुईवटा जहाज पश्चिम नेपालमा र एउटा पूर्वी नेपालको विराटनगरमा राखेर उडान भर्ने व्यवस्था मिलाइने मन्त्री किराँतीले जानकारी दिए ।

‘हवाईजहाज अभावमा गौचरणमा परिणत भएका देशका २२ वटा विमानस्थलमा एक जना सुत्केरी भए पनि उडान भर्ने गरी तयारी थालिएको छु, मन्त्री किराँतीले भने,‘’म मन्त्री भएर जाँदा हवाईजहाज त बेहोस अवस्थामा भेन्टिलेटरमा सुतिरहेको रहेछ । त्यसलाई हामी उपचार गर्दैछौँ । २२ वटा विमानस्थल गौचरणमा परिणत भएका छन् । कारण जहाजमाथि ठूलाठूला भ्रष्टाचार भए । पापीको आँखा लागे, लुट्नैसम्म लुटिए । खाने, पिउने र रमाउने ठाउँ त्यही मन्त्रालयलाई बनाए । अब यसरी चल्न दिन्नँ ।’

उनले खोटाङको तीनवटै विमानस्थलमा नियमित उडान र अवतरण गर्नेगरी तयारी थालिएको जानकारी दिए । प्राधिकरणमा विमान नभएकै कारण उडानरअवतरण हुन नसकेको जानकारी दिँदै किरातीले अबको केही समयपछि नै खोटाङका तीनवटै विमानस्थलमा नियमित उडान र अवतरण हुने बताए ।

पर्यटकीयस्थलको अवलोकन भ्रमणमा निस्किएका मन्त्री किराँतीले सबै नागरिक असल नियतका साथ अगाडि बढ्ने हो भने, समृद्धि आफूहरूकै पालामा सम्भव रहेको पनि बताए । फायर हाइड्रेन्ट गेट भल्भ उद्घाटनपछि जिल्ला समन्वय समिति खोटाङले आयोजना गरेको अन्तरक्रियामा उनले भ्रष्टाचार नियन्त्रणका लागि सबैले अभियान सञ्चालन गर्नुपर्ने बताए ।