नयाँ दिल्ली । भारतको गंगा नदीमा बनिरहेको ३.६ किलोमिटर लामो पुल भत्किएको छ । आइतबार भत्किएको उक्त पुल भागलपुर जिल्लाको खगडिया र सुल्तानगञ्जको अगुवाइमा बनिरहेको थियो । १७ सय १७ करोड भारतीय रुपैयाँमा निर्माणाधीन पुल भत्किएपछि स्थानीयहरू रुष्ट बनेका छन् ।
उनीहरूले निर्माणाधीन पुल भत्किनुमा भ्रष्ट सरकार र भ्रष्ट सरकारी कर्मचारीहरू दोषी भएको बताएका छन् । यो घटनाको भिडियो पनि यतिबेला भाइरल भएको छ । बिहारका नागरिकहरूले भ्रष्टाचार गरेर पुल बनाउँदा भत्किएको प्रतिक्रिया दिइरहेका छन् ।
यसअघि सन् २०२२ को अप्रिल महिनामा पनि सोही पुलको एक हिस्सा भत्किएर नदीमा खसेको थियो । त्यसबेला विपक्षी पार्टी आरजेडीले पुल निर्माणमा प्रश्न उठाउँदै भ्रष्टाचारको आरोप लगाएको थियो । त्यसबेला भारतीय जनता पार्टी भाजपा सत्तामा थियो, उसले मुख्यमन्त्री नितिश कुमारसँग साझेदारी गरेको थियो ।
हाल भाजपा विपक्षीमा हुँदा उसले पनि पुल निर्माणमा भ्रष्टाचार भएको आरोप लगाइरहेको छ । यस पुल भत्किँदा हालसम्म पनि पुलको रेखदेखमा बसेका सुरक्षागार्ड बेपत्ता छन् । स्थानीय नितिश कुमार भन्छन्, ‘यो घटनाले पुलमा सरकारले भ्रष्टाचार गरेको प्रस्ट हुन्छ । यसअघि पनि यो पुल भत्किएको थियो ।’
यो घटनासँगै बिहार सरकारले सो पुल निर्माणका कार्यकारी इन्जिनियरलाई निलम्बन गरेको छ । पुल बनाउने कम्पनी एसपी सिंग्ला कन्ट्रक्सन प्राइभेट लिमिटेडलाई यो घटनाबारे १५ दिनभित्र जवाफ दिन भनिएको छ ।