• मंसिर १४ २०८१, शुक्रबार

नेपालमा लगानी गर्ने प्रकृया झन्झटिलो छ : अध्यक्ष यादव

जेष्ठ २३ २०८०, मंगलवार

काठमाडौँ । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले विदेशी लगानी भित्र्याउने कुरालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताएका छन् ।

मंगलबार पार्टी निकट बौद्धिक पेशकर्मी महासंघ नेपाल पुनर्गठन तयारी समितिले काठमाडौँमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै यादवले आफू उपप्रधानमन्त्री हुँदा विभिन्न देशका लगानीकर्तासँग कुरा गरेको तर नेपालमा लगानी गर्ने प्रक्रियाका लागि झन्झट हुने गरेको गुनासो पाएको बताएका हुन् ।

अध्यक्ष यादवले विदेशीहरू नेपालमा लगानी गर्न इच्छुक भए पनि कानुनी व्यवधानहरूले समस्यामा पार्ने गरेको बताए । उनले भने, ‘लगानीलाई कसरी देशमा ल्याउने हो ? त्यो प्राथमिकतामा राख्नुपर्छ । म उपप्रधानमन्त्री हुँदा धेरै लगानीकर्तासँग कुरा भएको थियो । भारत, अमेरिका लगायत अन्य देशमा पनि । उनीहरू लगानी गर्न चाहन्छन्, तर यहाँको प्रशासनिक झन्झट जुन छ, एउटा फाइल यहाँबाट त्यहाँ दिनुपर्ने, त्यहाँबाट सार्दा त्यहाँ । कानुनको अस्थिरता, न्यायालयमा विश्वास छैन । न्यायालय निष्पक्ष हुन नसकेकाले कोही पनि न्यायालय आउन चाहँदैन । त्यो वातावरण अन्त्य गर्नुपर्छ । अहिले ७३ प्रतिशत भन्दा बढी बजेट त तलब, भत्ता, ऋण तिर्न, यात्रामा खर्च सकिन्छ । त्यसको आधारमा कुनै पनि देशले आर्थिक समृद्धि ल्याउँछु भन्नु ढाँट्नुबाहेक केही होइन, त्यसैले नीति परिवर्तन गर्नुपर्छ ।’