काठमाडौं । साप्ताहिक कारोबारको पहिलो दिन आज (आइतबार) नेपाली बजारमा पहेँलो धातु (सुन)को मूल्य घटेको छ। आइतबार सुनको मूल्य तोलामा १ हजार ७०० रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
तोलामा १ हजार ७०० रुपैयाँले घटेपछि आइतबार छापावाल सुनको मूल्य १ लाख ११ हजार ६०० रुपैयाँ कायम भएको छ। यस्तै, तेजाबी सुनको मूल्य १ लाख ११ हजार ५० रुपयाँ कायम भएको छ।
यसअघि अघिल्लो साताको अन्तिम कारोबार दिन, शुक्रबार सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको थियो। शुक्रबार छापावाल सुन प्रतितोला १ लाख १३ हजार ३०० र तेजाबी सुन प्रतितोला १ लाख १२ हजार ७५० रुपैयाँमा किनबेच भएको थियो।
आइतबार चाँदीको मूल्य तोलामा २० रुपैयाँले घटेर प्रतितोला १ हजार ४१५ रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार चाँदी प्रतितोला १ हजार ४३५ रुपैयाँमा किनबेच भएको थियो।