• मंसिर १७ २०८१, सोमबार

जनगणना २०७८ को जातजातिको र भाषाको तथ्यांक सार्वजनिक, सब भन्दा धेरै क्षत्री

जेष्ठ २० २०८०, शनिबार

काठमाडौं । ‘राष्ट्रिय जनगणना २०७८’ ले जातजाति र भाषाको तथ्यांक सार्वजनिक गरेको छ । यो तथ्यांकले नेपालमा १ सय ४२ जातजाति रहेको देखाएको छ । २०६८ सालको जनगणना अनुसार १ सय २५ जातजाति थिए । यो जनगणनामा १७ जातजाति थपिएका छन् ।

राष्ट्रिय तथ्यांक कार्यालयका निर्देशक ढुण्डीराज लामिछानेका अनुसार रानाथारू, भूमिहार, वनकरिया, सुरेल, चुम्बा/नुब्री, फ्रि, मुगल/मुगुम, पुन, रौनियार, बनियाँ, गोंध/गोण्ड, कर्मारोङ, खटिक, बेलदार, चै/खुलौट, डोन, केवरट जातजाति थपिएका छन् । २०७८ को जनगणना अनुसार मातृभाषाको संख्या १ सय २४ भएको छ । अघिल्लो जनगणनामा १ सय २३ मातृभाषा थिए ।

२०६८ जनगणना अनुसारको कुल १ सय २३ मातृभाषामध्ये १२ वटा विदेशी भाषा बोल्ने व्यक्तिहरूको संख्या न्यून भएकोले अन्य भाषामा समावेश गरिएको छ भने नयाँ थप भएका १३ समेत गरी मातृभाषाको संख्या १ सय २४ कायम भएको छ । थपिएका मातृभाषमा भोटे, लोवा, चुम/नुब्री, नर-फू, रानाथारू, कर्मरोङ, मुगाली, टिछोरङ पोइके, साध्री, दोन, मुण्डा/मुण्डियारी, केवरट छन् । यो जनगणनाले १० वटा धर्म कायम गरेको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले २०७९ चैत १० गते नेपालको जनसंख्या सार्वजनिक गरेको थिए ।

क्षत्रीको जनसंख्या सबैभन्दा धेरै

जनगणना अनुसार क्षत्रीको जनसंख्या १६.४५ (४७,९६,९९५) छ । दोस्रोमा ब्राह्मण (पहाडी) ११.२९ (३२,९२,३७३), तेस्रोमा मगर ६.९ (२०,१३,४९८), चौथोमा थारू ६.२ (१८,०७,१२४), पाँचौंमा तामाङ ५.६२ (१६,३९,८६६) प्रतिशत छन् । त्यसपछि विश्वकर्मा ५.०४, मुसलमान ४.८६ प्रतिशत छन् भने नेवार ४.६ प्रतिशत, यादव ४.२१, राई २.२, परियार १.९४ प्रतिशत छन् ।

सबैभन्दा कम नुराङ जातिका छन् । उनीहरूको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । त्यस्तै कलार जातिको जनसंख्या ९ सय ३१, फ्रि जातिको जनसंख्या ९ सय २१, कोचे जातिको जनसंख्या ८ सय ४७, टोप्के गोलाक जातिको जनसंख्या ७ सय ४२, राउटे जातिको जनसंख्या ५ सय ६६ मात्र रहेको छ । यस्तै वालुङ जातिको जनसंख्या ४ सय ८१, ल्होमी जातिको जनसंख्या ३ सय ५५, सुरेल जातिको जनसंख्या ३ सय १८, कुसुण्डा जातिको जनसंख्या २ सय ५३, वनकरियाको जनसंख्या १ सय ८० छ ।

नेपालीपछि मैथली भाषी
नेपाली भाषाको जनसंख्या १ करोड ३० लाख ८४ हजार ४ सय ५७ छ अर्थात् ४४.८६ प्रशिशत छ । मैथलीको ३२ लाख २२ हजार ३ सय ८९ (११.०५), भोजपुरी १८ लाख २० हजार ७ सय ९५ (६.२४), थारू १७ लाख १४ हजार ९१ (५.८८) प्रतिशत छन् । त्यसपछि तामाङ भाषी ४.८८ छन् । नेपालीलाई दोस्रो भाषाको रुपमा प्रयोग गर्नेको संख्या ४६.२३ प्रतिशत छ । ४८.०८ प्रतिशतको कुनै दोस्रो भाषा छैन । दोस्रो भाषाको रूपमा ०.९२ मैथली, हिन्दी ०.७६ प्रतिशत छन् । जनगणनामा पुर्खाको भाषाको तथ्यांक पनि संकलन गरिएको थियो । जसमा ३४.७६ प्रतिशतको पुर्खाको भाषा नेपाली रहेको जनगणनामा उल्लेख छ । त्यस्तै १०.१५ को मैथली, ६.०६ को भोजपुरी, ६.०५ को थारू, ५.५० को तामाङ, ४.२८ को मगर, ४.०५ प्रतिशतको नेवार पुर्खाको भाषा भएको जनगणनाको तथ्यांकमा छ ।

यो जनगणना अनुसार १० वटा धर्म कायम भएको छ । जसमा सबैभन्दा बढी हिन्दु ८१.१९ प्रतिशत छन् भने बौद्ध ८.२१ प्रतिशत, स्लाम ५.०९ प्रतिशत, किराँत ३.१७ प्रतिशत छन् । त्यस्तै क्रिश्चियन १.७६ प्रतिशत भएका छन् । पाकिस्तानी, वोन, जैन, वहाई र शिख धर्मावलम्बी छन् ।

तथ्यांक कार्यालयमा जातजाति, भाषा र धर्मका सम्बन्धमा सरोकारवाला विभिन्न व्यक्ति तथा संख्याबाट करिब ७० वटा माग ध्यानाकर्षण पत्र दर्ता भएका थिए । यसमा विज्ञ तथा संवैधानिक आयोगका सम्बन्धित व्यक्तिको परामर्श र छलफल तथा राय सुझाव लिएको पनि कार्यालयले जनाएको छ ।

विगतका जनगणना जस्तै यो पटक पनि नेपालमा बसोबास गर्दै आएका सबै व्यक्तिलाई जातजाति, भाषा, धर्म लगायतका विषयमा प्रश्न सोधिएको थियो । २०७८ को जनगणना अनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५ सय ७८ रहेको छ । जसअनुसार पुरुषको संख्या १ करोड ४२ लाख ५३ हजार ५ सय ५१ (४८.९८ प्रतिशत) छ । यस्तै महिलाको जनसंख्या १ करोड ४९ लाख ११ हजार २७ (५१.०२ प्रतिशत) छ । २०७८ कात्तिक २५ देखि मंसिर ९ सम्म १२औं जनगणना गरिएको थियो ।

मुलुकको जनसंख्या वृद्धिदर एक प्रतिशतभन्दा कम देखिएको छ । जनगणना नतिजा अनुसार शून्य दशमलव ९२ प्रतिशतमात्रै जनसंख्या वृद्धिदर छ । २०६८ सालको जनगणनामा १.३५ प्रतिशत प्रतिवर्ष थियो । नगरपालिका र गाउँपालिकाको जनसंख्यामा पनि घोषणा भइसकेको छ ।