• जेष्ठ २८ २०८२, मंगलवार

भारतमा भयानक रेल दुर्घटना, २ सय बढिको मृत्यु

जेष्ठ २० २०८०, शनिबार

काठमाडौँ । भारतको ओडिशा राज्यको बालासोर जिल्लामा रेल दुर्घटना हुँदा २ सयभन्दा बढीको मृत्यु भएको छ । भारतीय समाचार संस्थाहरूका अनुसार चेन्नईबाट हावडा गइरहेको कोरोमन्डल एक्सप्रेस अर्को मालवाहक रेलसँग ठोक्किएको थियो ।

त्यसपछि रेलको केही बग्गी लिकबाट पल्टिएका थिए । एनडीटीभीका अनुसार दुर्घटनामा २०७ जनाको मृत्यु भएको छ भने करिब ९ सय जना घाइते भएका छन् । दुर्घटना शुक्रबार साँझ ७ बजेतिर बालासोर जिल्लाको बाहानागा बजार स्टेसन नजिकै भएको हो ।

भारतीय रेलमन्त्री अश्विनी वैष्णव दुर्घटनास्थल पुगेका छन् । उनले ट्विट गर्दै दुर्घटनाप्रति दुःख व्यक्त गरेका छन् । साथै सरकारका तर्फबाट मृतकका परिवारलाई १०/१० लाख रुपैयाँ राहत दिने घोषणा पनि गरेका छन् । त्यस्तै उपचारका लागि गम्भीर घाइतेलाई २ लाख र सामान्य घाइतेलाई ५० हजार रुपैयाँ उपलब्ध गराइने पनि उनको घोषणा छ ।

शुक्रबार साँझदेखि नै उद्धार र राहत कार्य तीव्र बनाइएको पनि भारतीय अधिकारीहरूले जनाएका छन् । प्रत्यक्षदर्शीहरूका अनुसार पल्टिएका रेलका बग्गीले यात्रु थिचिएका थिए । उद्धारका लागि घटनास्थलमा १०० भन्दा बढी एम्बुलेन्स र ५० भन्दा बढी बस परिचालन गरिएको छ ।