• मंसिर १४ २०८१, शुक्रबार

कम्पनी दर्ता गर्न र पुँजी वृद्धि गर्न शुल्क नलाग्ने

जेष्ठ १६ २०८०, मंगलवार

काठमाडौं । नयाँ कम्पनी दर्ता र कम्पनीको पुँजी वृद्धि गर्न कुनै शुल्क नलाग्ने भएको छ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी अर्थिक वर्ष ०८०/८१ को बजेट प्रस्तुत गर्दै न्यूनतम सय रुपैयाँ मात्र अधिकृत पुँजी घोषणा गरेर पनि कम्पनी खोल्न सक्ने व्यवस्था घोषणा गरेका हुन् ।

साथै, अनलाइनबाटै कम्पनी दर्ता र खारेजी गर्न सकिने प्रक्रियालाई सरल र पारदर्शी बनाइने बजेटमा उल्लेख छ । अहिले कम्पनी खोल्नभन्दा बन्द गर्न निकै झन्झटिलो व्यवस्था भएको भन्दै व्यवसायीहरूले गुनासो गर्दै आएका छन् ।

त्यस्तै, उत्पादनमूलक तथा निर्यातजन्य उद्योग खोल्न आवश्यक जग्गाको सहज उपलब्धताका लागि लिज र हदबन्दीसम्बन्धी विद्यमान कानुनी व्यवस्था पुनरावलोकन गर्ने अर्थमन्त्री महतले बताए ।

लगानीकर्ताका लागि आवश्यक सबै सूचना उपलब्ध हुने गरी राष्ट्रिय पोर्टल तयार गर्ने, वैदेशिक लगानीको न्यूनतम सीमा पुनरावलोकन गरी क्षेत्रगत सीमा तोक्ने र सूचना प्रविधि उद्योगमा वैदेशिक लगानीको न्यूनतम सीमा हटाउने व्यवस्था बजेटमा गरिएको छ । सरकारले तुलनात्मक लाभका क्षेत्रमा वैदेशिक लगानी आकर्षित गर्न ०८० मा लगानी सम्मेलन गर्ने घोषणा गरेको छ ।

द्रुतमार्ग, सुरुङमार्ग, जलाशययुक्त जलविद्युत् परियोजनाको पहिचान तथा पूर्वतयारीका काम सम्पन्न गरी विदेशी लगानीका लागि प्रस्ताव आह्वान गरिने बजेटमा उल्लेख छ ।