काठमाडौं । भुटानी शरणार्थी प्रकरणमा एक जना शङ्कास्पद व्यक्ति झुलुक्क देखा पर्छन्, त्यसपछि एकाएक हराउँछन् । शरणार्थीको कोटामा अमेरिका पठाउन खोज्नेहरूबाट बेचन झाले दुई करोडको चेक बुझेको प्रहरीको अनुसन्धानबाट खुलेको छ । तर, नाम र काठमाडौंमा बस्ने ठेगाना बाहेक अनुसन्धान अधिकृतहरूले उनको बारेमा अरु सुराक पाउन सकेका छैनन् ।
भुटानी शरणार्थीको कोटामा अमेरिका पठाइदिने नाममा ठगेको आरोपमा टोखा नगरपालिका-६ स्थित धापासी घर भएका रामशरण केसी प्रहरीको हिरासतमा छन् । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनलाई वैशाख २५ मा पक्राउ गरेको थियो । दाङ घर भएका ५१ वर्षीय रामशरणसँग बेचन झाले दुई करोडको चेक लिएका थिए ।
भुटानी शरणार्थी प्रकरणको योजनाकार मध्येका एक सानु भण्डारीले भनेर आफ्नो नाममा रहेको हिमालयन बैंकको दुई करोडको चेक झालाई दिएको रामशरणले बयानमा खुलाएका छन् । केसीका अनुसार २०७८ मङ्सिर ८ मा नयाँ बानेश्वरस्थित ह्वाइट हाउस कलेज अगाडि झाले चेक बुझेका हुन् ।
गिरोहले भने अनुसार भुटानी शरणार्थी सम्बन्धी ‘निणर्य गराउन’ मन्त्रिपरिषदबाटै गराउने भन्दै बेचनले चेक लिएको अनुसन्धान अधिकृतहरू बताउँछन् । प्रहरीसँगको बयानमा रामशरण केसीले भनेका छन्, ‘२०७८ मङ्सिर १३ मा बसेको मन्त्रिपरिषदबाट भुटानी शरणार्थी सम्बन्धी निणर्य गराउन बेचन झाले रकम मागेको भनेर सानु भण्डारीले भनेपछि हिमालयमा बैंकमा रहेको खाताबाट बेचन झाको नाममा २ करोडको चेक काटेर दिएको हुँ ।’
रामशरणले उनलाई बुझाएको चेकको फोटो खिचेर उनका साथी प्रेमराज पन्थीलाई पठाएको बताएका छन् । बयानमा उनले भनेका छन्, ‘चेक दिएको भिडियो पनि बनाएको थिएँ ।’ तर, झा त्यसपछि शरणार्थी प्रकरणको कुनै पनि घटनामा देखिएका छैनन् । बेचन झाको घर ठेगाना स्पष्ट नखुलेको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी दानबहादुर कार्कीले बताए । कार्कीले भने, ‘ठेगाना खुलेको छैन, बेचन झाको बारेमा थप अनुसन्धान गरेर पूरक प्रतिवेदन लैजान्छौँ ।’
मन्त्रिपरिषदबाटै बेचन झाले निणर्यहरू गराउन सक्छन्, त्यसपछि अमेरिका तथा तेस्रो मुलुकमा नेपालीलाई पठाउन सजिलो हुनेकुरा सानु भण्डारीले रामशरण केसीलाई भनेको अनुसन्धानबाट खुलेको छ । तर, झाले चेक बुझेर पनि कुनै निणर्य गराउन सकेनन् । चेक लिएसँगै उनी शरणार्थी प्रकरणको दृश्य बाहिरै छन् ।
रामशरण केसी रङसम्बन्धी काम गर्दागर्दै ‘अमेरिका सपना’ देखेर ठगीधन्दामा संलग्न भएको प्रहरीको अनुसन्धानबाट खुलेको छ । २०७४ मा चिनजान भएका जनक कार्की र गोकुल थापामार्फत् शरणार्थी नेता टेकनाथ रिजालसम्म रामशरण पुगेका हुन् ।
रामशरणले सानु भण्डारीलाई बैंकमार्फत् १ करोड ३४ लाख, केशव दुलालमार्फत् पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का छोरा प्रतीक थापालाई १ करोड ५० लाख र टेकनाथ रिजाललाई ११ लाख बुझाएको बयान दिएका छन् । गोकुल थापालाई ६० लाख दिएको बयानमा खुलाएको बुधवार अदालतमा दायर गरिएको अभियोग पत्रमा उल्लेख छ । अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरूका अनुसार रामशरण दोस्रो लेयरका आरोपी हुन् ।
सरकारी वकिल कार्यालयले रामशरण विरुद्ध संगठित ठगी, किर्ते, राज्य विरुद्धको कसुर र एकै वारदातमा एकभन्दा बढी कसुर गरी ‘एकीकृत कसुर’ समेत गरेको पुष्ट भएको भन्दै कसुर ठहर हुन अभियोग मागदावी लिएको छ ।