काठमाडौं । नेकपा एमालेले मधेश प्रदेशसभाको बैठक अवरुद्ध पारेको छ । एमालेको विरोधपछि बिहीबार बसेको संसद बैठक अवरुद्ध भएको हो । बुधबार संसदमा उठाएका विभिन्न विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले बैठक अवरुद्ध पारेको हो । एमालेको अवरोधपछि सभामुख रामचन्द्र मण्डलले बैठक स्थगित गरेका छन् ।
एमाले तथा सत्तारुढ दलकै सांसदहरूले प्रदेश सरकारले स्थानीय तहलाई पठाएको शसर्त बजेट वितरणमा कमिसन र चलखेल भएको भन्दै प्रदेशसभामा आलोचना गर्दै आएका छन् । बुधबारको प्रदेशसभा बैठकमा सांसदहरूले सरकारले कमिशन लिएर शसर्त अनुदानको योजना वितरण गरेको आरोप लगाएका थिए । एमाले संसदीय दलका नेता सरोजकुमार यादवले शसर्त अनुदान वितरणमा सरकारले मनपरी गरेको आरोप लगाए ।
‘एउटै निर्वाचन क्षेत्रको एउटा पालिकामा अनुदान गएको छ, अर्कोमा गएको छैन,’ उनले भने, ‘किन गएको छैन ?’ कमिशन नदिएको पालिकामा सरकारले शसर्त अनुदानको रकम नपठाएको उनले आरोप लगाए । सो विषयमा उच्चस्तरीय छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने उनको माग छ ।
कुन व्यक्तिमार्फत् कुन खातामा शसर्त अनुदानको बजेट गएको हो भन्दै पारदर्शी गर्नुपर्ने उनको माग छ । चालु आर्थिक वर्षमै एमाले जनप्रतिनिधिहरूले काम गरेको भुक्तानी रोक्न सत्तापक्षको सांसदहरूले प्रयास गरिरहेको उनको दाबी छ ।
त्यस्तै, माओवादी केन्द्र संसदीय दलका नेता भरतप्रसाद साहले खबरदारी गर्दै सरकारको आलोचना गरे । शसर्त अनुदान वितरणमा लापरबाही भएको भन्दै छानबिन समिति बनाएर अनुसन्धान गर्नुपर्ने साहको माग छ । योजना वितरणमा हाकाहाकी कमिशन माग्ने गरेको उनको आरोप छ ।
‘हाकाहाकी १० प्रतिशत कमिशन लिएर योजना वितरण भइरहेको छ,’ उनले भने, ‘मेरै निर्वाचन क्षेत्रमा अरु सांसदले योजना ल्याएर कमिशनमा बाँडिरहेको छ । बाराको उपनिर्वाचनमा भएको खर्च निकाल्न लाग्नुभएको हो कि क्या हो ?’
मुख्यमन्त्रीले बुलेट ट्रेनको गतिमा काम गर्ने बताए पनि कछुवा गतिमा काम गरिरहेको टिप्पणी गरे । ‘सरकारको गलत क्रियाकलापलाई नेकपा माओवादी केन्द्र सहन सक्दैन । प्रतिवाद गर्छौं,’ साहले भने ।
नेपाली कांग्रेसका सांसद श्याम पटेल र लोसपाकी सांसद रानी शर्मा तिवारीसहितले प्रदेश सरकारले पठाएको शसर्त बजेटमा व्यापक कमिशनको चलखेल भएको आरोप लगाए ।