• मंसिर १५ २०८१, शनिबार

यसपालिको नीति तथा कार्यक्रम सफल बनाउन ५० खर्ब बजेट चाहिन्छ : सांसद प्रेम आले

जेष्ठ १० २०८०, बुधबार

काठमाडौं । नेकपा एसका सांसद प्रेमबहादुर आलेले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि सरकारले संसदमा प्रस्तुत गरेको वार्षिक नीति तथा कार्यक्रम कार्यान्वयनका लागि करिब ५० खर्ब बराबरको बजेट आवश्यक पर्ने बताएका छन् ।

प्रतिनिधिसभाको आजको बैठकमा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै आलेले मुलुक गम्भीर आर्थिक सङ्कटमा रहेको बेला आएको नीति तथा कार्यक्रममा केही अत्यन्तै राम्रा र महत्वाकांक्षी कार्यक्रम समेटिएको भए पनि त्यसको कार्यान्वयन चुनौतीपूणर् रहेको बताए ।

‘केही अत्यन्तै राम्रा र महत्वाकांक्षी कार्यक्रम आएका छन् । यसलाई कार्यान्वयनमा जाँदा जटिलता नदेखियोस् र कर्मकाण्डीजस्तो नबनोस्,’ आलेले भने, ‘अहिलेको नीति तथा कार्यक्रममा समेटिएका सबै योजना तथा कार्यक्रम कार्यान्वयनका लागि ५० खर्ब बराबरको बजेट आवश्यक पर्छ ।’

महालेखापरीक्षकको प्रतिवेदन अनुसार विगतका वर्षको नीति तथा कार्यक्रम करिब ३७ प्रतिशत बराबर मात्रै कार्यान्वयन भएको र उनले संसदमा बताए । त्यस्तै, सरकारको बजेट खर्च सन्तोषजनक नदेखिएकाले कार्यान्वयन पाटोमा कडाइका साथ प्रस्तुत हुनुपर्ने आलेको भनाइ छ ।

सरकारले सडक यातायात र हवाई यातायातलाई प्राथमिकतामा राख्नुपर्ने उनले बताए । धनगढी-दिपायल-चैनपुर-उरै भञ्ज्याङ सडकखण्डलाई राष्ट्रिय गौरवको र रुपान्तरणकारी आयोजनाका रूपमा विकास गरिनुपर्ने उनको भनाइ छ । कैलाश मानसरोबर जोड्ने सबैभन्दा छोटो बाटोका रूपमा यसलाई त्रिदेशीय सडकका रूपमा विकास गर्न सकिने उनले बताए ।

राजस्व प्रशासनलाई थप चुस्त बनाउनुपर्ने, पुरानो राजस्व वक्यौता असुली गर्नुपर्ने र चुहावट नियन्त्रणमा निर्मम भएर प्रस्तुत हुनुपर्ने सुझाव आलेले दिए । केही निश्चित व्यवसायीलाई मात्रै आर्थिक लाभ पुग्ने तर त्यसले सरकारको कोषमा समस्या देखिने गरी कुनै पनि कर छुटका निणर्य गर्न नहुने आलेको भनाइ छ ।