काठमाडौं । सहकारीबाट सर्वसाधारणको रकम अपचलन गरेर फरार रहेका बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीले २ वटा सहकारी संचालन गरेको पाइएको छ ।
पोखरा र बागलुङमा ‘इमेज बचत तथा ऋण सहकारी संस्था’का नाममा २ वटा छुट्टाछुट्टै सहकारी खोलेर उनले सर्वसाधारणको २ अर्ब अपचलन गरेको प्रारम्भिक अनुसन्धानमा भेटिएको छ ।
सहकारीका अध्यक्ष एवं ढोरपाटनका मेयर नेपाली सम्पर्कविहिन भएपछि पीडित बचतकर्ताले जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएका छन् ।
सोही निवेदनका आधारमा नेपालीलाई विदेश जान नदिन गृह मन्त्रालय र आवश्यक छानविन गरी कारबाही गर्न सहकारी रजिष्ट्रारको कार्यालयमा पत्राचार गरेको बागलुङकी प्रमुख जिल्ला अधिकारी रोशनीकुमारी श्रेष्ठले बताइन् ।
सोही पत्राचारका आधारमा गृह मन्त्रालयले मेयर नेपालीलाई विदेश जान रोक लगाउँदै सबै नाका र अध्यागमन विभागमा पत्राचार गरिसकेको छ । उनले सहकारीबाट बागलुङमा मात्र डेढ अर्ब बचत अपचलन देखिएको सिडिओ श्रेष्ठले बताइन् ।
‘बागलुङमा मात्रै सहकारीले ८ सय जना सेयर सदस्य र ३ हजार २ सय जना बचतकर्ताको करिब डेढ अर्ब रुपैयाँ बचत रहेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ,’ उनले भनिन्, ‘सहकारी विभागले अनुसन्धान गर्दैछ, केही दिनमै यथार्थ विवरण आउला ।’
इमेज वचत तथा ऋण सहकारी पोखरा महानगरपालिकामा दर्ता गरेका छन् । जहाँबाट ५ सय बढी बचतकर्ताका ५० करोड रुपैयाँ अपचलन गरेको सहकारीका प्रबन्धक दीपक पौडेलले बताए । उक्त रकम उनले घर जग्गा कारोबारमा लगानी गरेको पौडेलले बताए । दुई संस्थाको गरी नेपालीले २ अर्ब अपचलन गरेको उनीहरूले बताएका छन् ।
प्रवन्धक पौडेलका अनुसार अध्यक्ष नेपालीले बागलुङकै संगीता थापामगरलाई अपरेशन हेड बनाएका थिए । ऋण अधिकृत उनकै भतिज सुनिल नेपालीलाई नियुक्त गरेका थिए । मगर र नेपाली पनि सम्पर्कविहिन छन् ।
‘विश्वासको आधारमा काम गरें, अहिले आएर सम्पर्कविहीन भए,’ उनले भने, ‘मलाई त रबर स्ट्याम्प हिसाबमा काम लगाए ।’