काठमाडौं । आफूले चलाएको सहकारीबाट निक्षेपकर्तालाई रकम फिर्ता दिन नसकेपछि फरार भएका बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई अध्यागमन विभागले निगरानी सूचीमा राखेको छ । विभागका महानिर्देशक झलकराम अधिकारीका अनुसार आइतबार मेयर नेपालीसहित चार जनालाई विदेश जानसक्ने भन्दै निगरानी सूचीमा राखिएको हो ।
‘उहाँहरूले सहकारीबाट करोडौं रूपैयाँ भुक्तानी गर्न बाँकी रहेको र शुक्रबारदेखि सम्पर्कविहीन भएको खबर गृह मन्त्रालयबाट आएको थियो । देश छोडेर भाग्न सक्ने भएकाले त्रिभुवन विमानस्थलसहित हाम्रा मातहतका कार्यालयलाई उनीहरूको निगरानी गर्न निर्देशन दिइएको छ ।’ इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएका हुन् । नेकपा (एमाले) बाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बाग्लुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।
एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए। उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए । बुर्तिवाङ बजारमा दरबार होटल पनि सञ्चालन गर्ने नेपालीले पैतृक सम्पत्ति बेचेर भए पनि निक्षेपकर्ताको रकम फिर्ता गर्ने बताएका थिए ।
उनी एकाएक सम्पर्कविहीन भएपछि बाग्लुङ प्रहरीले उनको खोजी गरिरहेको छ । यसैबीच मेयर नेपालीका आफन्तले आइतबार इलाका प्रहरी कार्यालय बुर्तिवाङमा मेयरको एउटा पत्र दिएका छन् ।
उक्त पत्रमा आफूलाई धेरैले फोन गरेर तनाव दिएकाले केही दिन आराम गर्ने उल्लेख गरिएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रहरी निरीक्षक राजेश अधिकारीले बताए । ‘उहाँका आफन्तले हिजो त्यो पत्र हाम्रो अफिसमा ल्याएर छोडेका रहेछन् । हामी उहाँलाई खोजिरहेका छौं,’ अधिकारीले भने ।