• मंसिर १५ २०८१, शनिबार

ढोरपाटनका मेयर देवकुमार सम्पर्कविहीन भएपछि खोज्न प्रहरी परिचालन

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । आफू अध्यक्ष रहेको सहकारीबाट निक्षेपकर्तालाई रकम दिन नसकेपछि बाग्लुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली फरार भएका छन् ।

इमेज बचत तथा ऋण सहकारी संस्थाका अध्यक्षसमेत रहेका नेपाली शुक्रबारदेखि सम्पर्कविहीन भएको ढोरपाटनका उपमेयर धनबहादुर कायतले जानकारी दिए ।

‘शुक्रबार म एउटा कार्यक्रममा गएको थिएँ । आज बिहान कार्यालय जाँदा त मेरो टेबलमा कार्यवाहक दिइएको पत्र थियो,’ कायतले भने,‘उहाँले कहाँ गएको भन्नुभएको छैन । म नआउन्जेल कार्यवाहक चलाउनू मात्र लेख्नुभएको छ ।’ बाग्लुङका सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले मेयर नेपालीलाई खोज्न प्रहरी परिचालन गरिएको बताए ।

‘उहाँ सम्पर्कविहीन भएपछि बचतकर्ताहरू हाम्रो कार्यालयमा आएका छन् । बाग्लुङ बजारमा तनावको अवस्था छ,’ बरालले भने,‘बचतकर्ताको पैसा फिर्ता दिन हामीले पहिला पनि भनेका हौं । उहाँले आफ्नो पैतृक सम्पत्ति बेचेर भए पनि तिर्छु भनेर प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । अहिले सम्पर्कविहीन भएपछि प्रहरीलाई खोज्न भनेका छौं ।’

एमालेबाट नेपालीले २०७४ र २०७९ मा ढोरपाटनको मेयर जितेका हुन् । उनी संस्थापक अध्यक्ष रहेको इमेज सहकारीको मुख्य कार्यालय बाग्लुङ बजारमा छ भने शाखा कार्यालयहरू पोखरा र बागलुङको हटिया र बुर्तिबाङ बजारमा छन् ।

एक महिनाअघि उनले एक विज्ञप्ति जारी गर्दै धेरै जना निक्षेपकर्ता रकम फिर्ता लिन आएकोले भुक्तानी दिन नसकिएको बताएका थिए । उनले बचतकर्तालाई धैर्य गर्न अनुरोध गरेका थिए ।

निक्षेपकर्ताको कति रकम सहकारीले भुक्तानी गर्न बाँकी छ भन्ने अनुसन्धानपछि थाहा हुने सहायक प्रमुख जिल्ला अधिकारी बरालले बताए । ‘सहकारी गण्डकी प्रदेशमा दर्ता भएकाले हामीले प्रदेश सरकारलाई पनि यो विषयमा जानकारी गराएका छौं, अनुसन्धान हुँदैछ,’ बरालले भने।