• असार २ २०८२, सोमबार

अमेरिकाले गर्यो युक्रेनलाई बमवर्षक विमान दिने बाचा

जेष्ठ ७ २०८०, आईतवार

काठमाडौं । जापानको हिरोसिमामा जारी जी-७ बैठकमा अमेरिकी राष्ट्रपति जो बाइडेन र युक्रेनी समकक्षी भोलोदिमिर जेलेन्स्कीबीच भेटवार्ता भएको छ । जेलेन्स्की शनिबार नै जापान पुगेका थिए । आइतबार बाइडेन र जेलेन्स्कीबीच भेटवार्ता हुँदा अमेरिकी राष्ट्रपतिले जेलेन्स्कीलाई शक्तिशाली हतियारहरू दिने वाचा गरेका छन् ।

अमेरिकाले अत्याधुनिक एफ-१६ लडाकु विमानहरू, हिमार्स रकेट प्रणाली र थप ३७५ मिलियन अमेरिकी डलरको हतियार युक्रेनलाई सहयोग गर्ने प्रतिबद्धता जनाएको हो । यी हतियारले युक्रेन आफ्नो मातृभूमि जोगाउन सफल हुने अमेरिकी विश्वास छ ।

आगामी केही महिनामै अमेरिकी सेनाले युक्रेनका सेनालाई यो विमानको प्रशिक्षण दिने पनि बाइडेनले बताएका छन् । बेलायतका प्रधानमन्त्री ऋषि सुनक अमेरिकी प्रतिबद्धतापछि खुसी भएका छन् । उनले युक्रेनले रुसविरुद्धको युद्ध जित्नैपर्ने अभिव्यक्ति दिए । बेलायत, फ्रान्स र जर्मनीले गतहप्ता मात्र युक्रेनलाई लामो दूरीको क्षेप्यास्त्र र शक्तिशाली ट्यांक दिने वाचा गरेका थिए । रुसविरुद्धको युद्धमा यसअघि पोल्यान्ड र स्लोभाकियाले पनि युक्रेनलाई मिग-२९ युद्धक विमान सहयोग गरेका थिए ।

अमेरिकाले युक्रेनलाई अत्याधुनिक एफ-१६ लडाकु विमान दिने घोषणा गरेपछि रुस रुष्ट बनेको छ । रुसले अमेरिकाले नराम्रो परिणाम भोग्ने चेतावनी दिएको छ । रुसका कार्यकारी विदेशमन्त्री अलेक्जेन्डर ग्रुस्कोले भनेका छन्, ‘पश्चिमी देशहरूले भड्काउ परिदृश्यलाई पछ्याइरहेका छन् । यस कार्यले उनीहरूलाई नै ठूलो जोखिम निम्त्याउनेछ ।’

रुसका अनुसार जी-७ का सबै योजनाहरूलाई ध्यान दिएर राखिएको छ र मस्कोसँग निर्धारित लक्ष्यहरू प्राप्त गर्न सबै आवश्यक माध्यमहरू छन् । उनले परमाणु युद्धलाई इंगित गरेको विश्लेषण भइरहेको छ । किनभने गत मे ९ मा रुसको विजयी दिवसका दिन मात्र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले विश्व परिवर्तनको विन्दुमा पुगिसकेको बताएका थिए । रुसविरुद्ध पश्चिमा राष्ट्रले अघोषित युद्ध छेडेको बताउँदै रुस जस्तोसुकै अवस्थाका लागि तयार भएको पुटिनको भनाई थियो । जी-७ बैठकमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र जेलेन्स्कीबीच पनि वार्ता भएको छ ।

भारतले हालसम्म युक्रेनमा रुसी आक्रमणको निन्दा गरेको छैन, उसले रुसबाट सस्तोमै तेलहरू खरिद गरिरहेको छ तर, भेटमा भने मोदीले युक्रेनलाई आवश्यक सहयोग गर्ने बताएका छन् । समग्रमा जी-७ बैठकमा रुसलाई घेर्ने र चीनको बढ्दो प्रभुत्वबारे सजग हुनुपर्ने विषयमा छलफल भएको छ ।

बेलायती प्रधानमन्त्री ऋषि सुनकका अनुसार चीन वर्तमान समयको सबैभन्दा ठूलो चुनौती हो । चीन दिनदिनै आफ्नो देशमा मात्र नभएर विश्वमै अधिनायकवादी बनिरहेको उनको आरोप छ । जी-७ राष्ट्रहरूका अनुसार चीन आफ्नो आर्थिक योजनाले विश्वका गरिब र कमजोर देशलाई जबर्जस्ती गरिरहेको छ ।

तर, चीनले भने पश्चिमा राष्ट्र विशेष गरी अमेरिकाको पछाडि अन्य देश लाग्न नहुने बताइरहेको छ । अमेरिका नै विश्वका लागि खलनायक भएको चिनियाँ भनाइ छ । गत शुक्रबार नै जी-७ ले युक्रेनका रुसी अवैधानिक आक्रमणविरुद्ध आफूहरू सधै एक हुने बताएका छन् । उनीहरूले रुसलाई प्रतिबन्ध लगाएर एक्लो बनाउने प्रयास गरेका छन् । रुसका विदेशमन्त्री सर्गी लाभरोभले भने आफ्नो देशलाई धेरै देशको साथ भएको र रुस र चीनलाई नियन्त्रण गर्ने प्रयासमा उनीहरू असफल हुने बताउँछन् ।