• असार ३ २०८२, मंगलवार

रुससितको युद्द अन्त्य गर्न चीनसित युक्रेनले राख्यो यस्ता शर्त

जेष्ठ ४ २०८०, बिहीबार

काठमाडौं । चिनियाँ र युक्रेनका प्रतिनिधिबीच रुस-युक्रेनबीच जारी १५ महिने युद्ध अन्त्य गर्ने विषयमा छलफल भएको छ । चीनले आफ्ना युरोप-एसिया मामिला प्रतिनिधि तथा रुसका लागि पूर्वराजदूत ली हुईलाई विशेष दूतको रूपमा युक्रेन पठाएको थियो । ली चिनियाँ प्रतिनिधिको नेतृत्व गर्दै युक्रेन पुगे ।

दुई दिनसम्म लीको टोली र युक्रेनका परराष्ट्रमन्त्री दिमित्रो कुबेलाबीच राजधानी किभमा युद्ध अन्त्य गर्ने विषयमा छलफल चलिरहँदा पनि रुसले सो क्षेत्रमा आक्रमण गरिरहेको थियो ।

कुबेलाले छलफलका क्रममा स्पष्ट र सिधा रूपमा चिनियाँ विशेष दूतलाई भनिदिएका छन्, ‘यदि एक इन्च भूभाग पनि रुसलाई छाड्नुपर्छ भने त्यस्तो शान्तिवार्ताको काम छैन ।’

चिनियाँ प्रतिनिधिसँग भएको छलफलबारे बुधबार युक्रेनको विदेश मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ‘युक्रेनको सार्वभौमसत्ता र क्षेत्रीय अखण्डताको सम्मान’ हुने वार्तालाई मात्र आफूले स्वीकार गर्ने बताएको छ । चीनको विदेश मन्त्रालयले पनि बिहीबार एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘हाम्रा प्रतिनिधि लीले युक्रेन संकट अन्त्य गर्न कुनै द्रुत बाटो नभएको युक्रेनलाई बताएका छन् । सबै पक्षले आपसी विश्वास बढाउँदै राम्रो परिस्थिति सिर्जना गर्दै छलफलबाट युद्ध अन्त्य गरिनुपर्ने पक्षमा चीन छ ।’

चिनियाँ विशेष दूत ली हुई र युक्रेनी परराष्ट्रमन्त्री दिमित्रो कुबेला चीनले सधैँ युक्रेनको खराब अवस्थालाई सुदृढ गर्न रचनात्मक भूमिका खेलेको छ र युक्रेनलाई आफ्नो क्षमताअनुसार सहयोग गर्न जारी राख्ने पनि चिनियाँ विज्ञप्तिमा जनाएको छ । रुसले युक्रेनलाई आक्रमण गरे यता चीनबाट पहिलोपटक उच्चपदस्थ चिनियाँ कूटनीतिज्ञ युक्रेन भ्रमणका लागि गएका हुन् । युक्रेनले सुरुवातदेखि रुसी सेनाहरू पहिले युक्रेनी भूमिबाट रुस फर्किए मात्र शान्तिवार्ता सम्भव रहेको बताउँदै आएको छ ।

चिनियाँ विशेष दूत लीले अब रुसको भ्रमण गर्ने बताइएको छ । उनी रुसपछि पोल्यान्ड, फ्रान्स र जर्मनीको भ्रमणमा पनि जानेछन् । त्यहाँ उनले रुस-युक्रेन युद्ध अन्त्य कसरी गर्न सकिन्छ भनेर थप छलफल गर्नेछन् ।

रुस र युक्रेनबीच जारी एकवर्षे युद्धलाई अन्त्य गराउन चीनले गत फेब्रुअरीदेखि पहलकदमी चालिरहेको छ । फेब्रुअरीमा चीनले १२ बुँदे शान्ति योजना सार्वजनिक गर्दै रुस र युक्रेनबीच छलफलबाटै युद्ध अन्त्य हुनुपर्ने बताएको थियो ।

गत मार्च २० देखि २२ सम्म चिनियाँ राष्ट्रपति सी चिनफिङले रुसको भ्रमण गरेरै रुसी सकमक्षी भ्लादिमिर पुटिनसँग युद्ध छलफलबाट अन्त्य गर्न आह्वान गरेका थिए । रुसले पनि चिनियाँ योजनाले युद्ध अन्त्य गर्न सक्ने बताएको छ, तर उसले युक्रेनमा आक्रमण गर्न भने छाडेको छैन ।

आक्रमण जारी रहँदा यतिबेला युक्रेनले रुसलाई ठूलै झट्का दिने जवाफी कारबाहीको तयारी गरिरहेको छ । यसै हप्ता मात्र युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की युरोप भ्रमणमा निस्किएका थिए । उनले युरोपेली परिषद्लाई पनि सम्बोधन गर्दै हतियारहरू माग गरेका थिए । रोयटर्सको सहयोगमा