• मंसिर १५ २०८१, शनिबार

नक्कली शरणार्थी प्रकरण ठगी मात्र होइन, राज्य विरुद्दको जघन्य अपराध पनि हो : लिङ्देन

बैशाख २७ २०८०, बुधबार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका संसदीय दलका नेता राजेन्द्र लिङ्देनले नक्कली भुटानी शरणार्थी प्रकरण भ्रष्टाचारको विषयमा मात्र नभई ठगी, राज्यविरुद्धको अपराध, सङ्गठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी जघन्य अपराध भएको बताएका छन् ।

प्रतिनिधि सभाको आकस्मिक समयमा बोल्दै सांसद लिङ्देनले यो प्रकरणमा सरकारले हालसम्म गरेको काम कारबाहीबारे जानकारी गराउन पनि उनले माग गरे ।

उनले भने-‘नक्कली भुटानी शरणार्थी प्रकरणमा भइरहेको चर्चा परिचर्चा भइरहेको छ, यो केवल आर्थिक भ्रष्टाचार वा अङ्कसँग जोडिएको मात्र भ्रष्टाचार हैन । यो ठगी, राज्यविरुद्धको अपराध, संगठित अपराध र सरकारी कागज किर्ते सम्बन्धी अर्थात् यो एक प्रकारको जघन्य अपराध हो । यसमा संलग्न कुनै पनि मानिसलाई छुट दिने कल्पना त कुरै नगरौँ यसलाई कुनै पनि बहानामा कमजोर बनाउने, यसबाट कसैलाई उन्मुक्ति दिने काम सरकारले गर्न हुँदैन ।’ उनले अगाडि भने-‘अहिले पछिल्लो दिनमा यसबारे प्रहरीले अनुसन्धान नगर्ने हो कि, अख्तियारलाई बुझाउने हो कि ? भन्ने जस्ता तर्कहरु पनि कहिँकतैबाट आउन थालेका छन् । यस प्रकारको गल्ती सरकारबाट नहोस् भन्न चाहन्छौँ । यस्तो जघन्य अपराधमा देशको बेइज्जती गर्ने, देशको शिर झुकाउने खालको क्रियाकलापमा पूर्व गृहमन्त्रीहरू, उपप्रधानमन्त्री समेत भएका मानिसहरूको समेतको नाम आउनु लज्जास्पद काम हो । यसको बारेमा अझ व्यापक रूपमा जानकारी हुन आवश्यक छ ।

पत्रपत्रिकामा ठुलठुला मानिसको नाम आइरहेको छ, अनुसन्धानको बारेमा अनेक आशङ्काहरू आइरहेका छन् । शीर्षस्थ नेताहरूको बैठकलाई समेत सर्वसाधारणले आशङ्काले हेरिरहेका छन् ।’

उनले त्यसबारेमा के भइरहेको भन्ने बारेमा संसद्लाई जानकारी गराउन लिङ्देनले आग्रह गरे । यसबारे अहिलेसम्म सरकारले गरेको कारबाही र उनीहरूमाथिको कारबाहीबारे जानकारी गराउन सभामुखलाई रुलिङ गराउन माग गरे ।

सभामुख देवराज घिमिरेले सांसद लिङदेनले उठाएको विषयप्रति सरकारको ध्यानाकर्षण समेत गराएका छन् ।