काठमाडौं । अन्तर्राष्ट्रिय मुद्राकोष (आईएमएफ) ले नेपालको अर्थतन्त्र अझै जोखिममा रहेको भन्दै नीतिगत सावधानी अपनाउन सुझाव दिएको छ ।
नेपालको अर्थतन्त्रमा बाह्य जोखिम कायम रहेको अवस्थामा मौद्रिक नीतिलाई अझ खुकुलो पार्नेभन्दा पनि अझ बढी व्यवस्थित तुल्याउन आईएमएफले नेपाललाई सुझाएको छ ।
नेपालमा एक्स्टेन्डेड क्रेडिट फ्यासिलिटी (ईसीएफ) मार्फत सहुलियतपूणर् ऋण परिचालन भएका कार्यक्रमको समीक्षापछि आज आयोजित पत्रकार सम्मेलनमा आईएमएफका डेपुटी डिभिजन चिफ टुरुनेन जाक्र्कोले नेपालको आयात क्रमिक रूपमा बढेको अवस्थामा मौद्रिक नीतिलाई खुकुलो बनाउने हो भने त्यसले अर्को समस्या ल्याउनेतर्फ सचेत हुनुपर्नेमा जोड दिए ।
ईसीएफमार्फत परिचालन भएका कार्यक्रमको समीक्षापछि आईएमएफले पाँच करोड २८ लाख अमेरिकी डलर बराबरको ऋण निकासा गर्ने घोषणा गरेको छ । आईएमएफको कार्यकारी समिति (एक्जुकेटिभ बोर्ड) बैठकले ईसीएफअन्तर्गतको ऋण निकासा दिने निणर्य गरेको थियो ।
पत्रकारसँग आईएमएफका डेपुटी डिभिजन चिफ जाक्र्कोले भने, ’नेपालको आयात बढिरहेको छ, मूल्यवृद्धि उच्च दरमा छ,अहिले बाह्य जोखिम कायमै रहेकाले खुकुलो मौद्रिक नीति ल्याउन हुँदैन, अर्थतन्त्रलाई राम्रो गर्दैन ।’
उनले देशको आर्थिक अवस्थाबारे निणर्य लिँदा तथ्याङ्कमा आधारित हुन पनि सुझाव दिए । यसअघि आईएमफले कसिलो मौद्रिक नीतिले बाह्य क्षेत्र व्यवस्थापनमा सघाएको र बजेटको अर्धवार्षिक समीक्षाबाट चालिएका सरकारका कदमले अर्थतन्त्रमा आगामी दिनमा देखिनसक्ने चुनौती सम्बोधन गर्न खोजेको बताइएको थियो ।
राजस्व वृद्धि गर्ने उपाय अवलम्बन गर्न र सहुलियत कर्जा उपलब्ध गराएर देशको अर्थतन्त्रलाई चलायमान बनाउनुपर्नेमा डेपुटी डिभिजन चिफ जाक्र्कोको जोड थियो ।