• असार ४ २०८२, बुधबार

पाकिस्तानी पूर्वप्रधानमन्त्री इमरान खान पक्राउ, भन्छन्,‘गुलामी गर्नु भन्दा मृत्यु प्यारो’

बैशाख २६ २०८०, मंगलवार

इस्लामावाद । पाकिस्तानका पूर्व प्रधानमन्त्री इमरान खानलाई त्यहाँको सरकारले हिरासतमा लिइएको छ । खानलाई इस्लामाबाद उच्च अदालत बाहिरबाट सुरक्षाकर्मीले हिरासतमा लिएको हो । उनको पार्टीको स्रोतले यसबारे जानकारी दिएको छ ।

उनलाई कुन मुद्दामा हिरासतमा लिइएको भन्नेबारे अहिले जानकारी नभएको बीबीसीले बताएको छ । इमरान खानको पार्टी पाकिस्तान तहरिक-ए-इन्साफ (पिटिआई) का नेता फवाद खानका अनुसार इस्लामाबाद उच्च अदालत बाहिर खानको गाडीलाई रेन्जरले घेरेका थिए । यता पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफको पार्टी मुस्लिम लिग (नवाज) ले पूर्व प्रधानमन्त्री इमरान खानको गिरफ्तारीबारे प्रतिक्रिया दिएको छ ।

सो पार्टीले इमरान खान हुनुपर्ने ठाउँमा नै पुगेको बताएको छ । प्रतिक्रियामा पार्टीले लेखेको छ, ‘उनी (इमरान खान) जहाँ हुनुपर्थ्यो त्यहीँ पुगे ।’ इस्लामाबादका आइजीले एक बयानमा इमरान खानलाई अल-कादिर ट्रस्ट मुद्दामा पक्राउ गरिएको बताएको छ । उनले स्थिति नियन्त्रणमा भएको पनि बताएका छन् ।

यसैबीच खानले त्यहाँको सेनालाई गम्भीर आरोप लगाएका छन् । उनले आफू पूर्व प्रधानमन्त्री हुँदासमेत एफआईआर दर्ता गर्न नसकेको इमरान खानले आरोप लगाएका छन् । उनले भने, ‘आइएसपीआर सर, जब कुनै संस्थाले आफ्ना कालो भेडाहरू विरुद्ध कारबाही गर्छ, त्यसको विश्वसनीयता बढ्छ । भ्रष्ट र गलत काम गर्ने संस्थालाई पक्रने संस्थाको विश्वसनीयता बलियो हुन्छ ।’

इमरान खानले भने, ‘म मानसिक रूपमा तयार छु । यदि तपाईंलाई मलाई जेल हाल्न मन लागेको छ भने म तयार छु । यो जुन डर्टी ह्यारीले योजना बनाएको छ । यससँग पूरै गिरोह छ । सबैलाई थाहा छ कि उनको साथमा को छन् । यदि उनीहरूको हातमा मेरो ज्यान जानु नै छ भने म यसका लागि पनि तयार छु ।’

इमरानले थपे, ‘यदि यी चोर, डाँकुको गुलामी गर्नुपर्यो भने त म मलाई माथि लैजान भगवानसँग प्रार्थना गर्छु । उनीहरूको गुलामीभन्दा मृत्यु राम्रो ।’