काठमाडौँ । अर्थमन्त्री प्रकाशशरण महतले आगामी यो आर्थिक वर्षको सामाजिक सुरक्षा भत्ता कटौती नहुने बताएका छन् । राष्ट्रियसभामा विनियोजन विधेयक २०८० का सिद्धान्त र प्राथमिकताका सन्दर्भमा भएको छलफलका क्रममा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्री महतले सरकारले सामाजिक सुरक्षा भत्ता कटौती नगर्ने उल्लेख गरे ।
उनले देशमा आर्थिक संकटको कुरा चलिरहेका बेला सामाजिक सुरक्षा भत्ता कटौती नहुने बरु सरकारले मितव्ययी ढंगले काम गर्ने जानकारी दिए ।
उनले भने,‘अर्थतन्त्रमा समस्या देखिएका छन्, त्यसलाई मैले स्वीकार गरेको छु । अब हाम्रो गन्तव्य कतातिर जान्छ, भन्नेबारेमा मैले निवेदन गरेको छु । कतिपयले यो गर्न सक्छौँ वा भन्छौँ मात्रै भनेर प्रश्न उठाउनुभएको छ । त्यसलाई मैले स्वाभाविक रूपमा लिएको छु ।’
उनले यो आर्थिक वर्षमा जति राजस्व उठाउन सकिन्छ त्यति उठाउन नसकेको र पुँजीगत खर्चपनि न्यून भएको उल्लेख गरे ।
उनले भने,‘अवश्यपनि अहिले राजस्व घटेको छ, पुँजीगत खर्च कम छ, त्यसले आर्थिक वृद्धि हाम्रो लक्षअनुसार भएन, कम भयो । यो अवस्थामा कसरी अर्थतन्त्रलाई कसरी चलायमान गर्छौं त ? अब हाम्रो पुँजीगत खर्चको प्रभावकारिता बढाउनुपर्यो । हामीले स्विकार्नुपर्छ, हाम्रो संयन्त्रमा ढिलासुस्ती छ, हाम्रो संयन्त्रमा उदासीनता छ र अन्तिम समयमा गएर मात्र खर्च गर्ने परम्परा छ, पहिलो दिनदेखि नै त्यसलाई अन्त्य गर्नुपर्छ ।’