• मंसिर १५ २०८१, शनिबार

सरकार ढल्ने त्रासले असारअघि नै बजेट ल्याउने कोशी प्रदेश सरकारको तयारी

बैशाख २० २०८०, बुधबार

काठमाडौं । प्रदेश सरकारले बजेट ल्याउनु अघि नै सरकार फेर्ने तयारीमा अन्य दलहरू लागेपछि एमाले नेतृत्वमा रहेको कोशी प्रदेश सरकारले असार १ अघि नै बजेट ल्याउने तयारी गरेको छ ।

राष्ट्रपति निर्वाचनअघि केन्द्रमा आएको सत्ता समिकरणको फेरबदलपछि कोशी प्रदेशमा पनि त्यसको असर देखिने सम्भावना उच्च भइरहेका बेला मुख्यमन्त्री हिक्मत कार्कीले असार १ अघि नै हतारमा बजेट ल्याउने तयारी गरेका हुन् । प्रदेशमा आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पनि मुख्यमन्त्री कार्की स्वयमले निर्वाह गरिरहेका छन् ।

अहिले विपक्षमा रहेको नेपाली काँग्रेस, र नेकपा एकीकृत समाजवादी तथा प्रदेशमा सत्ता साझेदार रहेका माओवादी केन्द्र र जनता समाजवादी पार्टी लगायतका दलहरू प्रदेशमा नयाँ सरकार गठनको कसरतमा छन् । यी पार्टीका नेताहरूले बजेट अघि नै नयाँ सरकार बनाउने अभिव्यक्ति दिइरहेका छन् ।

यसरी अर्को सरकार बन्ने सम्भावना नजिकिँदै गएपछि कार्की नेतृत्वको सरकारले बजेट आफैं ल्याउने तयारी गरेको हो । प्रदेशको सत्तारूढ दल एमाले संसदीय दलको बुधबार विराटनगरमा बसेको बैठकमा मुख्यमन्त्री हिक्मत कार्कीले सांसदहरूलाई यसपटक असार १ अघि नै प्रदेशको बजेट ल्याउने जानकारी दिएका छन् ।

जेठ १५ मा संघीय सरकारले र असार १ मा प्रदेश सरकारहरूले बजेट ल्याउने अभ्यास छ तर, प्रदेश सरकारले भने यसपटक असार १ अगावै बजेट ल्याउने तयारी गरेको एमालेले पुष्टि गरेको छ । ‘यसपटक असार १ भन्दा अगाडि नै बजेट ल्याउने तयारी भएको छ,’ संसदीय दलको बैठकपछि प्रमुख सचेतक रेवतीरमण भण्डारीले भने, ‘असार १ सम्म नकुर्ने कुरा भएको छ ।’

सरकार ढल्ने सम्भावनाका कारण आफ्नै नेतृत्वमा हतार गरेर बजेट ल्याउन लागिएको हो भन्ने प्रश्नमा प्रमुख सचेतक भण्डारीले भने, ‘जेठ १५ सम्म चाहिँ कुर्नैपर्छ, संघको बजेट कस्तो आउँछ हेर्नुपर्छ । त्यसपछि असार १ सम्मै कुर्नु पर्ने कानुनी बाध्यता छैन ।’ उनले सरकार ढल्ने सम्भावनाबारे नबोले पनि ‘जिकज्याक’ चाहिँ हुन सक्ने सम्भावना औंल्याए ।