• फाल्गुन २७ २०८२, बुधबार

दोश्रो विश्वयुद्दमा प्रयोग गरिएको पानीजहाज ८० वर्षपछि फेला पर्यो

बैशाख १० २०८०, आईतवार

वासिङटन । दोस्रो विश्वयुद्धमा प्रयोग गरिएको जापानी पानीजहाज ८० वर्षपछि फेला परेको छ । भ्वाइस अफ अमेरिकाले उल्लेख गरेअनुसार उक्त जापानी पानीजहाजमा एक हजारभन्दा बढी यात्री सवार थिए ।

सन् १९४२ मा उक्त पानीजहाजले ८५० युद्धबन्दी र करिब २०० नागरिक बोकेको थियो । जहाजमा को-को थिए भन्ने थाहा नभएपछि त्यसलाई पानीमै डुबाइएको थियो । पानीजहाजको भग्नावशेष यसै साताको सुरुमा फिलिपिन्सको दक्षिणी चीन सागरमा भेटिएको थियो ।

यो मिसन अष्ट्रेलियाको रक्षा मन्त्रालय, अष्ट्रेलियाको साइलेन्टवर्ल्ड फाउन्डेसनका समुद्री पुरातत्त्वविद र डच समुद्री सर्वेक्षण कम्पनी फुग्रोका विज्ञको संयुक्त प्रयासमा अघि बढाइएको थियो । यसै महिनाको सुरुमा फिलिपिन्सको तटमा खोजी अभियान थालिएको थियो ।

त्यसबाट कुनै वस्तु वा मानव अवशेष नहटाइने बताइएको छ । अस्ट्रेलियाका उपप्रधानमन्त्री रिचर्ड मार्ल्सले ट्विटमा उल्लेख गरेका छन्, ‘८० वर्षभन्दा बढी समयदेखि, सयौँ अष्ट्रेलियाली परिवारले मोन्टेभिडियो मारुको समाचारका लागि पर्खिरहेका छन् ।

यो हप्ता एक असाधारण खोज प्रयासका लागि सम्बद्ध सबैलाई धन्यवाद, जहाजको अन्तिम विश्राम स्थान पत्ता लगाइएको छ ।’